१४ मृतक, १०० भन्दा बढी घाइते – तर सरकार किन मौन?
08 Sep,2025
काठमाडौंमा जेन जेडको आन्दोलन जारी छ। सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको यो विरोध प्रदर्शन अहिले पनि रोकिएको छैन। कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ र सयभन्दा बढी गम्भीर घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।
तर पाँच घण्टा बितिसक्दा पनि सिंहदरबार मौन छ। कुनै मन्त्रीको आवाज आएको छैन, कुनै सरकारी प्रतिनिधि सडकमा पुगेका छैनन्। गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्री – सबै चुप।

अहिले सडकमा प्रहरी मात्र होइन, सेना पनि देखिएका छन्। किन सेना परिचालन गर्नुपर्यो? किन अश्रुग्यास र रबरको गोली मात्र प्रयोग गरेर आन्दोलन दबाउने प्रयास भइरहेको छ? यो आन्दोलनलाई संवादमार्फत समाधान गर्ने कोसिस किन देखिँदैन?
सडकमा लडिरहेका ती युवा केवल आन्दोलनकारी होइनन्। उनीहरू कुनैको छोरा हुन्, दाजु हुन्, साथी हुन्। १४ परिवार शोकमा छन्, सयौँ परिवार अस्पतालको गेटमा उभिएका छन्। यो केवल सामाजिक सञ्जालको मुद्दा होइन, यो स्वतन्त्रताको र सरकारको जवाफदेहिताको प्रश्न हो।
सरकारको मौनता अझै लम्बिँदै जानु देशका लागि खतरनाक संकेत हो। आन्दोलन थप चर्कन सक्छ, आक्रोश अझै बढ्न सक्छ। सरकारको पहिलो जिम्मेवारी जनताको सुरक्षा र आवाज सुन्ने हो। तर अहिले जनताले लाठी, गोली र मौनता मात्र पाएका छन्।
अब समय आएको छ – सरकारले संवादको बाटो रोज्नुपर्छ, जिम्मेवारी लिनुपर्छ र जनतालाई जवाफ दिनुपर्छ।