अत्यधिक गर्मीले मानिसलाई छिटो बुढ्याउने अनुसन्धानको निष्कर्ष
03 Sep,2025
पटक–पटक गर्मीको छालमा बस्दा मानिसको उमेर बढ्ने गति छिटो हुन सक्छ भन्ने नयाँ अनुसन्धानले देखाएको छ।

ताइवानका वैज्ञानिकहरूले करिब २५,००० वयस्कको १५ वर्षको स्वास्थ्य डेटा अध्ययन गर्दा पत्ता लगाए कि दुई वर्षसम्म गर्मीको छालमा परेको मानिसको जैविक उमेर (Biological Age) आठदेखि बार्ह दिनसम्म अगाडि बढ्छ। जैविक उमेर भनेको वास्तविक उमेर होइन, यो शरीरका अंगहरू र कोषिकाहरू कति स्वस्थ छन् भन्ने सूचक हो।
यो संख्या सानो लागे पनि यसको प्रभाव दीर्घकालीन हुन्छ, विज्ञहरूको भनाइ छ। “यो केवल दुई वर्षको तथ्यांक हो, तर गर्मीको छाल त दशकौंदेखि भइरहेका छन्,” अनुसन्धानकर्ता डा. कुइ गुओले भनिन्।
यी निष्कर्षहरू जलवायु परिवर्तनका कारण विश्वभर गर्मीको लहर लामो र तीव्र बन्दै गइरहेको समयमा आएका हुन्। यस वर्ष युरोप, जापान र कोरियामा रेकर्ड तोड गर्मी भयो, ईरान र अमेरिकाको केही भागमा खतरनाक तापक्रम देखियो। सन् २०२४ (इतिहासकै सबैभन्दा तातो वर्ष) मा मात्रै मानवीय गतिविधिका कारण ४१ अतिरिक्त दिन गर्मी बढेको पाइएको थियो।
अनुसन्धानले केही समूहहरू बढी जोखिममा रहेको पनि देखाएको छ। वृद्धहरू, बाहिर काम गर्ने मानिसहरू, र एसी नभएका घरमा बस्नेहरूमा जैविक उमेर छिटो बढ्ने सम्भावना बढी हुन्छ। यद्यपि, अनुसन्धानकर्ताहरूका अनुसार यो जीवनका दिन घटेको होइन, तर स्वास्थ्य सूचकमा देखिने परिवर्तन हो, जसले रोग र मृत्युको जोखिम बढाउँछ।
यो अध्ययनमा १२ वटा स्वास्थ्य सूचक (जस्तै कलेजो, फोक्सो र कोषिकाको अवस्था) प्रयोग गरी सहभागीहरूको जैविक उमेर वास्तविक उमेरसँग तुलना गरिएको हो। नतिजामा धूम्रपान, व्यायाम र पहिलेको रोगको हिसाब पनि राखिएको थियो।
विशेषज्ञहरूले यसलाई सार्वजनिक स्वास्थ्यको दृष्टिकोणबाट गम्भीर चेतावनीका रूपमा लिएका छन्। केही ठाउँमा पहिल्यै सहयोग उपलब्ध छ, जस्तै अमेरिकाको ओरेगन राज्यले जोखिममा रहेका बासिन्दाहरूलाई मेडिकेडको पैसामा एसी किन्ने अनुमति दिन्छ। तर एसी पनि दीर्घकालीन समाधान होइन, किनकि यसले ऊर्जा खपत बढाएर जलवायु परिवर्तनलाई अझ खराब बनाउँछ।
अन्य सम्भावित उपायहरूमा शहरहरूलाई बढी हरियाली बनाउने, छायादार ठाउँ बढाउने, सार्वजनिक चिस्यान केन्द्र (Cooling Center) विस्तार गर्ने र गर्मीको चेतावनी प्रणाली सुधार गर्ने समावेश छन्।
गर्मीको लहर केवल असहज मात्र होइन, यसले हावाको गुणस्तर बिगार्छ, डढेलो र सुख्खा बढाउँछ। “मानिसहरूले गर्मीलाई घातक मान्दैनन्,” जलवायु स्वास्थ्य अनुसन्धानकर्ता क्रिस्टी इबी भन्छिन्, “तर यसले दीर्घकालीन गम्भीर असर पार्छ।”