भगवान राधाकृष्णको रथयात्रा सम्पन्न
17 Aug,2025
बिराटनगर / भदौ – ०१, ०८२ / एशियाकै दोश्रो ठूलो मानिने बिराटनगरको राधाकृष्ण रथयात्रा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्णलाई रथमा बिराजमान गराई यात्रा गराउने परम्परा अनुसार आज रथयात्रा गरिएको हो । सन् १९८८ मा इन्द्रलाल भट्टले थाल्नुभएको खटयात्रा भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको योगदानमा २०२५ सम्म आउँदा एक भव्य रथयात्राको रूपमा परिणत भएको छ। आजको रथयात्रा ५८ औ संस्करण हो ।
बिराटनगरको आजको रथयात्राको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र बिराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले गर्नुभयो । मुख्यमन्त्री कार्कीले सो अवसरमा बोल्दै भगवान राधाकृष्णको रथयात्राको यो पबित्र कार्यले कोशी प्रदेशको पर्यटकीय बिकाशमा ठोश योगदान पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले यस यत्रालाई भबिस्यमा अन्तरास्ट्रियकरण गर्ने बताउनु भयो । उहाले भगवान राधाकृष्ण मन्दिरको बिकाशमा प्रदेश सरकारले बिशेष सहयोग गर्ने वचन दिनुभयो ।


यसपटक बिराटनगर महानगर पालिकाको ४६ लाख बढी आर्थिक सहयोगमा नया रथको निर्माण गरिएको छ । महानगर पालिकाका मेयर नागेश कोइरालाको विशेष रेखदेखमा राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिले उक्त नया रथ निर्माण गराएको हो । सो रथ पहिलेको भन्दा केही लामो, चौडा र अग्लो बनाइएको छ ।
आजको रथयात्राले बिराटनगर सहरको करिब नौ किलोमिटरको दुरी पूरा गरेको छ । रथयात्रामा सहभागी हुन बिराटनगरबासी र आसपासका पालिकहरु र नेपाल- भारत सीमा आसपासका गरि पाँचलाख भन्दा बढी भक्तजनको उपस्थिति थियो ।
बिगत बर्षहरुमा केही चोरी, लुटपाट र अन्य अपराधिक गतिबिधी हुने गरेकोमा यस पटक त्यस्ता घटना सुनिएन । आजको रथयात्रालाई ब्यबस्थित गर्न एकहजार बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यसका अतिरिक्त बिराटनगर महानगर पालिकाको सम्पुर्ण सम्यन्त्र परिचालन गरिएको थियो । प्रदेश सरकार, जिल्ला प्रशासन लगायत अन्य निकायहरुले पनि बिराटनगरको गौरव मानी सहयोग गरेका कारण कुनै अपृय घटना नभएको हो । राधाकृष्ण मन्दिर समितिले रथयात्रालाई ब्यबस्थित गर्न दर्जन बढी समितिहरु निर्माण गरेको थियो ।
रथयात्रालाई आकर्षक बनाउन रथलाई फुल- माला र बत्तिले सिगारिएको थियो । मुख्य मन्त्रीको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । आठ दर्जनभन्दा बढी झाकीहरुले विशेष आकर्षण थपेका थिए ।
