03 Apr, 2026, Friday

खोज्नुहोस

रेडक्रसले नयाँ नेतृत्व पायो

31 Jul,2025

काठमाडौ / २०८२ साउन १५ /

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयले लामो प्रतीक्षा पछि नेतृत्व पाएको छ । रेडक्रस तीनमहिनादेखि नेतृत्व बिहिन थियो । नेपाल सरकारको यही साउन ९ गतेको निर्णयबाट बिनोद कुमार शर्माको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय तदर्थ समिती गठन भएको छ ।

नबगठीत समितिको उपाध्यक्षमा हरि बराल, महामन्त्रीमा मीनबहादुर मल्ल, कोषाध्यक्षमा लोकदर्शन श्रेष्ठ र सदस्यहरुमा प्रा.डा. हरिदर्शन श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, कान्ति राजभण्डारी, गङ्गाधर अधिकारी र हेमराज ओझा हुनुहुन्छ । उहाँहरुले हिजो साउन १४ गते सपथग्रहण पश्चात् पदभार ग्रहण गर्नुभएको छ ।

समाज कल्याण ऐन २०४९ को दफा २० ( २ ) बमोजिम नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्य मध्येबाट संस्थाको बिधान बमोजिम केन्द्रीय समिती गठन गर्नुपर्ने जिम्मेवारी यो तदर्थ समितिलाई दिइएको छ । यो समितिले नया केन्द्रीय समिति गठन नभएसम्म कार्य गर्ने छ । यो समितिलाई बिगतमा भएका उछृङ्खल, भ्रष्ट र अनपेक्षित गतिविधिको छानबीन गर्ने समेत जिम्मेवारी छ ।

भ्रस्टाचार र रेडक्रस सोसाइटीको भावना बिपरित काम गरि संस्थालाई लथालिङ्ग अबस्थामा पुर्याएको कारण बिगतको प्रो. डा. सुदर्शन प्रसाद नेपालको अध्यक्षता तथा भुपतीलाल श्रेष्ठ महामन्त्री रहेको समितिका पाच जनालाई तीनमहिना अगाडि अन्तरास्ट्रिय फेडरेशन अफ रेडक्रस ( IFRC ) ले ठाडै बर्खास्त गरेको थियो । बर्खास्तमा पर्ने अरु तीनजनामा केन्द्रीय सदस्यहरु मनोज थापा, बिनोद बस्नेत र नारायण तिमिल्सिना थिए ।

नेपाल रेडक्रस सोसाइटीमा लामो समयदेखि अनुभबी रहेका तदर्थ समितिका अध्यक्ष बिनोद कुमार शर्मा र उहाको समूहले बिगतको अनुभबसमेतलाई मध्यनजर गरि भबिस्यमा रेडक्रसको भावना अनुरुप कामगर्नेमा कर्मचारी र रेडक्रसकर्मी बिस्वस्त छन ।