राधाकृष्ण रथ यात्राको तयारी हुँदै
28 Jul,2025
बिराटनगर / साउन १२, २०८२ /
कोशी प्रदेशकै बहु चर्चित राधाकृष्ण रथयात्रा आउदो भदौ १ गते हुदैछ । श्रीकृष्ण जन्माष्टमी साउन ३१ गते भएकोले रथयात्रा भदौ १ गते हुने भएको हो ।
बिक्रम सम्बत १९८८ मा धर्मप्रेमी पण्डित इन्द्रलाल भट्टले बिराटनगर – १ स्थित पानीटङकीमा राधाकृष्ण मन्दिरको निर्माण गराउनु भएको थियो । उहाले नै राधाकृष्णको युगल जोडीको खटयात्राको प्रारम्भ गर्नुभएको थियो । पछि बृ. ज. भुपालमान सिंह कार्की, सत्यनारायण धनावत लगायत अन्य धर्मप्रेमी ब्यक्तित्वहरुको सहयोगमा बि.स. २०२५ सालदेखि भब्य रथको निर्माण गरि रथयात्राको प्रारम्भ गरिएको थियो । यस बर्ष बिराटनगर महानगर पालिकाको ४४ लाख ७७ हजारको लागतमा बिगतको भन्दा केही चौडा, केही अग्लो, केही मजबुत र आकर्षक नया रथ निर्माण गरिएको छ तर परम्पगत नमूनलाई नछोडीएको पनि समितिले जनाएको छ ।
श्री राधाकृष्ण रथयात्रा समारोह समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि भदौ १ गते हुने रथयात्राको सम्बन्धमा सम्पूर्ण जानकारी गराएको छ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३:३० बजे प्रारम्भ गरि साझ ९:३० बजे यात्रा सम्पन्न हुनेछ । छ घण्टाको उक्त अबधीमा रथले बिराटनगर शहरको ९ किलोमिटरको दुरी पार गर्नेछ । राधाकृष्ण मन्दिरबाट तिनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, धरानरोड, बरगाछी चोक, दुर्गा चोक हुँदै मन्दिर पुग्दा रथले ४४ स्थानमा विश्राम गर्नेछ ।
रथयात्राको कार्यलाई ब्यबस्थित गर्न रथयात्रा मार्ग निर्देशन उप समिति, झाकी ब्यबस्था समिती, रथ श्रीङ्गार समिती, सुपरिबेक्षण समिती, प्राथमिक उपचार समिती, प्राबिधिक समिती, स्वयंसेवक समिती, प्रसाद ब्यबस्थापन समिती, पिउने पानी समिती, फोहर ब्यबस्थापन समिती, सोसल मीडीया समिती, प्रचार प्रसार समिती, अध्ययन अनुसन्धान समिती, नगर श्रीङ्गार समिती, मन्दिर श्रीङ्गार समिती र बिद्युत ब्यबस्थापन समिती निर्माण गरिएको छ । मूल समितिले रथयात्राको दिन हुनसक्ने उछृङ्खल गतिविधि र चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलाप रोक्न प्रहरी, प्रशासन, बिराटनगर महानगर लगायत सरोकारवाला निकायहरुसग सम्पर्क गरिसकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।