24 May, 2026, Sunday

खोज्नुहोस

भोलि राजसंस्था फर्केला ?

28 May,2025

काठमाडौ / जेठ १४ / भोलि जेठ १५ गते राजसंस्थाको पुनर्स्थापना र हिन्दुधर्म स्थापनाको लागि आन्दोलन छ । भोलि नै गणतन्त्र दिबस पनि हो । राजतन्त्र चाहने र गणतन्त्र चाहने दुई बिपरित सिद्धान्त बोकेका संस्थाहरुको छुट्टा छुट्टै कार्यक्रम पनि छन । कार्यक्रम राजाबादीको रत्नपार्कमा छ भने गणतन्त्रबादीको भृकुटी मण्डपमा छ । दुबै स्थान नजिकै छन ।

हाल नेपालका सत्तारुढ राजनैतिक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन भने नेपालको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस पनि सत्ता साझेदार छ । यी दुई पार्टीले गणतन्त्रको जगेर्ना गर्ने वा रक्षा गर्ने नाममा देशको कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका समेत माथि कब्जा जमाएर बसेका छन । त्यति मात्र नभएर प्रहरी, प्रशासन, अख्तियार, राष्ट्रबैंक समेत कब्जा गरेर बसेको कुरा सबैका सामु छर्लङ्ग छ ।

राजाबादीहरुले दिउँसो १२ बजे भेलाहुन घरदैलो कार्यक्रम समेत गरिसकेको छ । सम्भबत भोलि नै झापाबाट राजा ज्ञानेन्द्रलाई काठमाडौ झिकाई राजगद्दिमा बसाउनेसम्मको योजना राजाबादीहरुको छ । यो अबस्थामा आफुलाई गणतन्त्रका रक्षक ठान्नेहरुले तिनीहरूलाई दबाउन, अझ रक्तपात निम्त्याउन वा भोडन्त गराउन आ-आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिइरहेका छन । हिजो लोकतन्त्रको स्थापनाको लागि आफुले प्रयोग गरेको बिनाहतहतियार भेलाहुने अधिकार, जुलुस गर्ने, वाक स्वतन्त्रताको अधिकारलाई चटक्कै बिर्सिएर आज शक्तिमा छु भन्दैमा जथाभाबी निर्देशन दिदै हिड्नु लोकतन्त्र वा गणतन्त्र हो र ? यो त पराजित मानसिकता भएन र ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले ” जेठ १५ गते ११ बजेदेखी ०२ बजेसम्म काठमाडौ एमालेको कब्जामा हुनुपर्छ” भनेर दिएको निर्देशन बर्तमान बहुदलीय गणतान्त्रिक ब्यबस्थामा सुहाउने कुरा होइन । देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर शान्ती सुरक्षाको प्रत्याभुति हुने कुरा बोल्नु पर्नेमा त्यस्तो डरलाग्दो र रक्तरन्जीत घटना निम्त्याउने खालको निर्देशन गर्नु कदापी सुहाउने कुरा होइन । यस्तो त डराएको अझ भनौ आत्तिएको ब्यक्तिले मात्र गर्छ ।

तेस्रो ठूलो दल नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले केही दिन अघि “१५ गतेको राजाबादीको आन्दोलन निस्तेज पार्नु” भनेर आफ्ना कार्यकर्ताहरुलाई दिएको निर्देशन पनि सुहाउने कुरा थिएन । प्रचण्ड पुर्ब प्रधानमन्त्री हुन । उनी देशमा गणतन्त्र ल्याउन आफ्नो महत्त्वपूर्ण योगदान रहेको दाबी गर्छन । अरुको वाक स्वतन्त्रता र शान्तिपूर्ण भेलाहुने अधिकार कुण्ठित गरेर गणतन्त्रबादी हुइदैन भन्नेकुरा उनले पनि बिर्सनुहुदैन ।

आजै भिजिट भिसाको नाममा अख्तियारको झण्खट खेपीरहेका काङ्ग्रेसका गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री ओलीको निर्देशनको सम्बन्धमा तथा सो दिनको सुरक्षा ब्यबस्था सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको जबाफ दिदै १५ गते काठमाडौ सङ्गीतमय रुपमा गणतन्त्रबादीको नियन्त्रणमा हुनुपर्छ भनेकोमा अर्को अर्थ लगाइएको बताए । सत्ता साझेदार हुदैमा अर्को पर्टीको नेताको लाजमर्दो ढाकछोप गर्नु आबस्यक थिएन । काङ्ग्रेसले “अरुको निजी बिचारको जिम्मेवारी नलिने” स्पष्ट गरिसकेको अबस्थामा लेखकले तलुवा चाटेसरह अतिभक्ति दिनुको रहस्य के हो ? बुझ्न कठीन भएको छ ।

“जनतालाई इरिटेड बनाएर ओलीले राजतन्त्रलाई सहयोग गरेको त होइन ?” भनेर केही दिन अगाडि प्रचण्डले गरेको आशङ्का सही भएर जीबनभरी गृहमन्त्री खान लेखकले ओलीको निर्लज्ज ढाकछोप गरेको हुनसक्ने आशङ्का यतिखेर बढ्दै गएको छ ।