युबा उद्यमीहरुको सम्मेलन हुँदै
28 May,2025
बिराटनगर / जेठ १४ / नेपाली युबा उद्यमी मंच, बिराटनगर च्याप्टरले नेपाल र भारतका युबा उद्यमीहरुको सम्मेलनको आयोजना गर्नेभएको छ । पहिलो भेला चारबर्ष अगाडि सम्पन्न भएको थियो । यो सम्मेलन आउदो जेठ २५ गते झापाको होटल मेची क्राउनमा सन्चालन हुने छ ।

यो सम्मेलन दोश्रो हो । चारबर्ष अघि पनि यही संस्थाले दुई देशका उद्यमीहरुलाई समेट्ने प्रयास गरेको थियो । यस बर्षको सम्मेलनमा नेपाल र भारतका करिब पाँचसय युबा उद्यमीहरुको सहभागिता रहने बताइएको छ । सम्मेलनमा नेपाल – भारत सीमा क्षेत्रका साझा श्रोतको पहिचान तथा सदुपयोग गर्ने, कृषि, पर्यटन, सूचना प्रबिधी, शिक्षा, सेवा, हस्पिटालिटी, धर्म-संस्कृति, प्रेस, रेस्टुरेण्ट लगायतका क्षेत्रका अनुभव आदान-प्रदान गर्नु नै प्रमुख कार्य हुनेछ । यस सम्मेलनबाट एक अर्का उद्यमीहरु बीच आपसी सौहार्द्रता वृद्धिहुने अपेक्षा आयोजक संस्थाले गरेको छ ।
सम्मेलनको मुख्य उद्देश्य नेपाल भारतको व्यापार वृद्धि गर्ने, नेपालको निर्यात व्यापार बढाउने तथा व्यापार घाटा घटाउने समेत रहेकोले बैदेशिक ब्यापारको दृष्टिकोणले यो महत्वपूर्ण बनेको छ । नेपालमा युवाहरु बस्न नरुचाएको तथा युबा पलायन बढिरहेको बेला यस प्रकारको युबा उद्यमी भेलाको विशेष महत्व रहेको छ ।
झापाको एकदिने उक्त सम्मेलनले नेपाल र भारतका युबा उद्यमी, लगानीकर्ता, नीति निर्माता, सरकारी तथा गैर सरकारी क्षेत्रलाई एउटै मञ्चमा ल्याई भबिश्यका लागि सहकार्यको ढोका खोल्ने कार्यमा सहयोगसिद्द हुने कुरा पनि आज बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।