पुरस्कार बितरण कार्यक्रम सम्पन्न
03 May,2025
बिराटनगर / बैशाख २० / यस बर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार आज आयोजित एक विशेष कार्यक्रमका बीच अन्नपुर्ण पोष्टका ब्युरो प्रमुख किशोर बुढाथोकीलाई प्रदान गरिएको छ । त्यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ ।

बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुरस्कृत दुबैजनालाई पुरस्कार राशी र प्रमाणपत्र प्रदान गर्नुभयो ।सूचनाको अधिकार पुरस्कारको राशी एकलाख एकसय रुपैयाको रहेको छ भने प्रोत्साहन पुरस्कार २५ हजार २५ रुपैयाको छ । गत २०७९ सम्म पुरस्कार राशी ५० हजार र १५ हजार रुपयाको रहेकोमा यसबर्षदेखि उक्त पुरस्कारहरुको राशी बढाइएको हो ।
यस अघि सूचनाको अधिकार पुरस्कारबाट बिनयकुमार कसजु, तारानाथ दाहाल, शिव गाउले, धर्मेन्द्र झा, गजेन्द्र बुढाथोकी र काशीराज दाहाल पुरस्कृत भैसक्नु भएको छ भने प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी नेउपाने, देबनारायण साह र हरी अधिकारी पुरस्कृत हुनुभएको छ । यसबर्षको अग्रज पत्रकार सम्मानबाट यज्ञ शर्मा सम्मानित हुनुभएको छ ।

यो कार्यक्रम नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हरेक बर्ष चैत १६ गते गर्ने गरिएकोमा चैत १५ को राजाबादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भएपछि स्थगित भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो अवसरमा बोल्दै सूचनाको अधिकार जनताको अधिकार भएकोले आफुले सधै सम्मान गर्नेगरेको बताउनु भयो । उहाले सुरक्षा पन्तको टिप्पणी शालीन र भद्र भएता पनि उनिमाथी साइबर हमला नै भएको बताउदै त्यो गलत भएको र त्यस्तो गर्नेलाई कानूनको दायरामा ल्याउनु पर्छ भन्नुभयो । उहाले हिजो सम्पन्न लगानी सम्मेलनमा ४६ वटा परियोजनाको लागि सम्झौता भएको बताउदै पहिलो पटकको यो सम्मेलनबाट आफुलाई हौसला भएको बताउनु भयो ।
विशेष अतिथी बिराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले सूचनाको अधिकार प्रयोग गर्दा पुर्बाग्रह नराख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । मेयर कोइरालाले पत्रकारिता गर्ने ब्यक्ति मासकम्युनिकेशन वा जर्नालिज्म पढेको हुनुपर्ने र आधुनिक प्रबिधि प्रयोग गर्न सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष सुशीला पठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सन्तोष सिग्देल, लिलाबल्लभ घिमिरे, बिक्रम लुइटेल, यज्ञ शर्मा,भरत खड्का, कमल रिमाल, पुरस्कृत ब्यक्तित्व किशोर बुढाथोकी र पुरस्कारका सस्थापक केदार बहादुर बस्नेतले बोल्नुभएको थियो ।