यातायातमा खुल्लम खुल्ला भ्रष्टाचार
01 Apr,2025
बिराटनगर / चैत १९ / यातायात ब्यबस्था कार्यालय, बिराटनगरमा ब्याप्त भ्रष्टाचार बारे अब खुलेरै बहस हुन थालेको छ । नेपालका अन्य कार्यालयहरुभन्दा बढी र खुल्लम खुल्ला भ्रष्टाचार हुन थालेपछी यो कार्यालय बदनाम समेत हुन पुगेको छ ।

कार्यालय प्रमुख भएर पाक्रम खा आएदेखि केही बिचौलिया र ड्राइभिङ सिकाउने सेन्टरहरुसग सेटिङ मिलाएर ठाडै रकम असुल्ने गरिएको छ । खालाई रकम असुलीको कार्यमा कार्यालयका प्राबिधिक सुनिल जैसवालको पूर्ण सहयोग रहेको छ । हाकिम खा र प्राबिधिक जैसवालले प्रयोगात्मक परीक्षामा खटिने ट्राफिक चेतेन्द्र श्रेष्ठलाई प्रयोग गर्ने गरेका छन । श्रेष्ठले संकेतका आधारमा कसलाई पास पार्ने र कसलाई फेल बनाउने हो, निर्णय गर्छन । ट्रायल बाहेक भनेजती पैसा नदिनेलाई फेल बनाउने र पैसा दिनेलाई गाडी वा बाइकले ठोकेपनि पास गराउने आधार आँखा जाचलाई पनि बनाउने गरेका छन । त्यस कार्यालयमा गाडी लाइसेन्सको २५ देखि ३० ह्जार र स्कुटी वा बाइकको १५ देखि २० हजारसम्म असुल्ने गरिएको छ । एक बिश्वस्त श्रोतका अनुसार सेवाग्राहीले बुझाएको राजस्वको बिल आउने गरेको तर सो रकम सरकारको राजस्व खातामा जम्मा नहुने गरेको समस्या पनि विभिन्न यातायात कार्यालयहरुमा आजभोली देखिन थालेका छन । हाकिम खाको अत्याचार बढेपछी र कार्यालय नै बदनाम हुनथालेपछी उनलाई हालै बिराटनगरबाट सरुवा गरिएको बुझिएको छ ।
यसैबीच पाथिभरा ट्रेनिङ सेन्टर नामको ड्राइभिङ सिकाउने संस्थाले डा.नवीन सुबेदीको करिब डेढ बिगाहा पुस्पलाल चोक छेउको जमीन आफुले भाडामा लिएर प्रयोगात्मक स्थलको लागि यातायात ब्यबस्था कार्यालय बिराटनगरलाई नि:शुल्क उपलब्ध गराएको छ ।
बिराटनगर कार्यालयको चरम भ्रष्टाचार र बेथितीको सम्बन्धमा गहिरो छानबीन गर्न र CCTV फुटेज र अन्य प्रमाण जुटाई दोशीलाई कानूनी करबाही गर्नुपर्ने माग उठेको धेरै भैसकेको छ तर माथिबाट कुनै चासो नदिएकोले रकम असुलिमा झन बढोत्तरी भएको भुक्तभोगीहरु बताउछन ।
सगरमाथा ड्राइभिङ ट्रेनिङ सेण्टरका प्रोप्राईटर मात्रीका निरौलाले आज पत्रकार सम्मेलन नै गरेर बिराटनगर कार्यालयको भ्रष्टाचारको भण्डाफोर गर्नुभएको छ । उहाले यी बेथितीको छनबीनको लागि मुख्यमन्त्री कार्यालय, आन्तरिक मामला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, यतायात ब्यबस्था कार्यालय, कोशीमा निबेदन दिने तयारी गरेको पनि बताउनु भएको छ ।