23 Apr, 2026, Thursday

खोज्नुहोस

अपाङ्गता भएकाहरु भोक भोकै

26 Mar,2025

बिराटनगर / चैत १३ / बिराटनगरका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुले सरकारले आफुहरुलाई गरिखान नदिएको आरोप लगाएका छन । उनिहरुले बिगत दुई महिनादेखि सरकारले आफ्नो काम खोसेर आफू, बृद्द आमाबाबु र छोरा छोरीको गाँस खोसेको आरोप पनि लगाएका छन ।

शारीरिक अपाङ्गता भएका २५ जनाले संयुक्त दस्तखत गरि आफ्नो रोजी रोटीको ब्यबस्था गरिदिनका लागि गत मङ्सिर ९ गते नै सरकारसग माग गरेका थिए, तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन, बरु उल्टै बर्षौदेखि गर्दै आएको काम समेत खोसिदिएको छ ।

शारीरिक अपांगता भएका बिराटनगरका झन्डै २५ जना नागरिकहरुले आफ्नो ट्राई-साइकल वा चारचक्के बाइकमा जोगबनीबाट सामान ल्याई बिराटनगर बजारमा बिक्री गरि गुजारा चलाउदै आएकोमा गत दुई महिना अगाडीदेखि रानी थानाका इन्सपेक्टरले सामान ल्याउन रोक लगाएका छन । ती इन्सपेक्टरले मोरङका सीडीओले भनेपछी मात्र सामान ल्याउन दिने अड्डी लिएका छन ।

शारीरिक अपांगता भएकाहरुलाई बिगत १७ / १८ बर्षदेखि सरकारले नै गुजाराको लागि सामान ल्याई बेच्न छुट दिदै आएको थियो । आज पत्रकार भेटघाट गरी उनीहरुले बिनोद केशरी र मुकेश केशरी नामका दुई तस्करको आर्थिक प्रलोभनमा परेर सीडीओले आफुहरुको रोजिरोटी खोसेको आरोप लगाएका छन ।

ती दुई केशरीहरु दाजु-भाइ हुन । उनिहरु भारतीय नागरिक हुन तर उनिहरुको बिराटनगर – ६ स्थित मणितारा बोर्डिङ स्कूलको छेवैमा बेग्ला बेग्लै अग्ला अग्लाघर छन । ती घर अर्कैको नाममा राखिएका छन । करिब ३/३ करोड खर्च गरी घर बनाएको बताइन्छ ।

ती दाजु भाईले बीरगन्जबाट २०/२२ जना तस्कर ल्याई साईकलमा सामान ओसारपसार गराउछन र आफ्नो घरबाट सप्लाई गर्छन । पहिले केशरी दाजु भाइ पनि साइकलमै तस्करी गर्थे, अहिले सप्लाई गर्छन । उनिहरुलेअहिले प्रहरी प्रशासनलाई मिलाईसकेका छन । दाजु भाईको एकलौटी तस्करीको लागि अपाङ्गता भएकाहरुको पेटमा लात मारिएको छ, रानी एरियाका नागरिकहरु भन्छन – यो अन्यायपुर्ण छ ।