कडारोगीले उपचार खर्च पाउने
23 Mar,2025
बिराटनगर / चैत १० / कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, बिराटनगरले कडारोग लागेका २५५६ जना नागरिकलाई उपचार खर्च बापत १३ करोड, २८ लाख, २५ हजार ४३६ रुपैया ६७ पैसा उपलब्ध गराउने भएको छ । आगामी एक महिना भित्र उक्त रकम भुक्तानी भैसक्ने जानकारी मन्त्रालय श्रोतले दिएको छ ।

बर्तमान प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहिलो कार्यकालमा कडा रोग लाग्ने प्रदेशबासीलाई प्रतिब्यक्ति एकलाख रुपैया आर्थिक सहयोग गर्ने नीति लिएको थियो । त्यसका लागि “कडा रोग”लाई मन्त्रालयले परिभाषित समेत गरेको थियो । हालै प्रदेश स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सुचना अनुसार यसपटक आर्थिक सहायता पाउनेहरुमा क्यान्सर रोगी १५०७ जना, मृगौला रोगी ५३६ जना, मृगौला ट्रान्सप्लाण्ट गर्ने ८५ जना, मुटुरोगी ३३१ जना, कलेजो रोगी १५ जना, थालसिमिया रोगी ३ जना, पार्किन्सन्स रोगी ७ जना, फोक्सो रोगी १ जना, स्पाइनल इन्जुरी ४१ जना, हेड इन्जुरी २९ जना र मस्तिष्कघात १जना गरि २५५६ जनाले सहयोग पाउने भएका हुन ।
कोशी प्रदेश सरकारले उल्लेखित कडा रोगबाट पीडितलाई प्रतिब्यक्ती एकलाख रुपैया दिने नीति अनुसार २०८० असारसम्म दर्खास्त दिने ५०० जनालाई एकलाखकै दरले भुक्तानी गरिसकेको छ भने साउन देखि ०८० चैतसम्मका दरखास्तदातालाई अहिले भुक्तानी दिन लागेको हो । कडा बिरामीहरुको अत्यधिक दरखास्त आउन थालेपछी मन्त्रालयले गत बैशाखदेखि त्यस्ता दरखास्त दर्तागर्न रोकेको थियो ।मन्त्रालयसग रकमको कमी भएपछि अहिले प्रतिब्यक्ती करिब ५१ हजार ( दामासाहीले ) दिनलागेको हो । मन्त्रालयले उपचारका लागि पु:न निबेदन लिने वा नलिने तथा पुराना बिरामीलाई रकम थप गर्ने वा नगर्ने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको स्वास्थ्यश्रोतले जनाएको छ ।