24 Apr, 2026, Friday

खोज्नुहोस

भदौ ११ गते रथयात्रा

25 Aug,2024

बिराटनगर / भदौ ९ – २०८१ / बिराटनगरको गौरवको रुपमा मानिदै आएको श्री राधा-कृष्ण भगवानको रथयात्रा सम्पन्न गर्न सबै तयारी पूरा भएको रथयात्रा समारोह समिति २०८१ ले जनाएको छ ।पर्सि ११ गते मङ्गलबार सम्पन्न हुने रथयात्रामा भक्तजनहरुको सुरक्षा र शहरको सर-सफाईलाई बिशेष ध्यान दिईने पनि समितिले जनाएको छ ।

भदौ ११ गते भगवान श्रीकृष्णको ९३ औ रथयात्रा सभ्य र भब्य रुपमा सम्पन्न गर्न राधा कृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीको संयोजकत्वमा ५०१ सदस्यीय रथयात्रा समारोह समिती गठन गरिएको छ । त्यसैगरी स्वयंसेवक समिती,रथ शृङ्गार समिति, सुरक्षा समिती, फोहोर ब्यबस्थापन समिती लगायत १८ वटा अन्य उप समितिहरु पनि निर्माण गरिएका छन । भक्तजनहरुको ज्यु-ज्यान तथा सम्पत्तिको सुरक्षा गर्न जनपद र सशस्त्र गरि एकहजार पाचसय प्रहरी परिचालन गरिने भएको छ ।

रथयात्राको अवसरमा बिराटनगर महानगर पालिकाले आफू अन्तरगतका विद्यालय तथा कार्यालयहरुमा बिदा दिएको छ । सो अवसरमा बिराटनगरका भक्तजन मात्र नभएर आसपासका ग्रामिण क्षेत्रका मानिसहरु र सिमाना जोडिएका छिमेकी भारतका समेत लाखौको संख्यामा भक्तजनहरुको उपस्थिती रहने गरेको बिगत बर्षहरुको अनुभब छ ।

उक्त दिन रथयात्रामा सहभगी हुन आउने सबै भक्तजनहरुलाई बहुमूल्य गर-गहना नलगाउन तथा आफ्नो धन सम्पत्ती, रुपैया-पैसा र अन्य बहुमूल्य बस्तुहरुको सुरक्षा आफै गर्न समितिले अनुरोध गरी सकेको कुरा समितिका सचिब कृष्ण कार्कीले बताउनु भयो । साथै रथयात्रामा ल्याईएका आफ्ना साना साना बाल बालिकाहरुको सुरक्षा आफै गर्न अबिभाबकहरुलाई अनुरोध गरिसकिएको पनि उहाले बताउनु भयो ।

भक्तजनहरुलाई भगवान राधा-कृष्णको पुजा आराधना गर्न सहज होस भनेर रथ यात्रालाई ४३ स्थानमा विश्राम गराइने छ । विश्राम स्थलहरुमा मन्दिर अगाडि, तिनपैनी, धनावत निवास, शंकरपुर मोड, बिराटेश्वर महादेव मन्दिर, महानगरपालिका चोक, गोल्छा चोक, वडा प्रहरी चोक, सत्यनारायण मन्दिर, सातघुम्ती मोड, जैन भवन, लक्ष्मी बैंक, जलजला चोक, काली मन्दिर, बाटा चोक, हनुमान मन्दिर, रा.बा. बैंक,कर अफिस, ट्राफिक चोक,सनसारी माईस्थान, एक्वापार्क मोड, रोडशेष चोक, छन । त्यसैगरी कलेज मोड, बसपार्क, महेन्द्र चोक, NIDC अगाडि, सरौचिया चोक, महबीर चोक, भाटभटिनी,शिव मन्दिर, सत्यनरयण स्कुल, भृकुटी चोक, बिजुली अफिस, बिराट नर्सिङ, मुनालपथ, बरगाछी, बासुकिनाथ मोड, दुर्गा चोकमा पनि रथलाई विश्राम गराईने समितिले जनाएको छ ।

कलकतत्ताबाट अनुभवी र दक्ष कालीगढहरु बोलाएर रथलाई आकर्षक र ब्यबस्थित ढंगले रङ्गाइएको र सजाईएको छ । अपरान्ह करिब ३ बजे कोशी प्रदेशका मुख्यमन्त्री मा. हिक्मत कुमार कार्कीले उद्घाटन गर्नु भएपछी प्रारम्भ हुने रथयात्रामा ७५ वटा आकर्षक झाकीहरु रहनेछन । सो अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गराउने कार्यक्रम रहेको पनि समितिले जनाएको छ ।

बिक्रम सम्बत १९८८ मा स्व. इन्द्रलाल भट्टले निर्माण गर्नु भएको टीनको छाप्रोमा स्थापना गर्नु भएको मन्दिरमा आगलागी भएपछी अहिले भएको यो मन्दिर निर्माण गरिएको हो । यो मन्दिर त्यसबेलाका समाजसेवी तथा धार्मीक मान्यजनहरु श्री भुपालमान सिंह कार्की, श्री सत्यनारायण धनावत, श्री पुण्यप्रसाद पौडेल, श्री शंकरप्रसाद गौतम र पुष्पराज तापडीयाले निर्माण गर्नु भएको ईतिहास छ ।