मंकीपोक्सको प्रकोप: विश्वव्यापी स्वास्थ्य संकटको घोषणा
17 Aug,2024
विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुकहरूमा मंकीपोक्सको प्रकोप बढ्दै गएको देखेपछि, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। मंकीपोक्स अत्यधिक संक्रामक रोग हो र अहिलेसम्म ४५० जनाले यसबाट ज्यान गुमाइसकेका छन्। यसको उपचार विधि अहिलेसम्म नरहेको र यो लागेमा यसको लक्षणको मात्र उपचार हुन्छ। वैज्ञानिकहरूको भनाइ अनुसार यस रोगको नयाँ भेरियन्ट अझै खतरनाक र तीव्र रूपमा फैलिने गर्छ। डब्ल्यूएचओ अनुसार यो रोग अफ्रिका बाहिरका अन्य मुलुकमा फैलिन सक्ने सम्भावना रहेकोले सबै देशहरूले सतर्कता अपनाउनु पर्ने बताइएको छ।
नेपालमा भने अहिले देश बाहिरबाट आवत जावत गर्ने भुमार्ग र हवाई मार्गमा कडाई गर्दै, मंकीपोक्स संक्रमण भएको मुलुकबाट आउने यात्रुलाई कम्तिमा ३ हप्तासम्म आइसोलेशनमा बस्ने निर्देशन आएको छ। यो रोगका लक्षणहरू सुरुमा छालामा रातो डाबर जस्तै आउने आउने, ज्वरो आउने, टाउको दुख्ने, जोर्नीहरू तथा मांसपेशीहरू दुख्ने र खटिरा आउने देखिएको छ। यो एउटा सरुवा रोग हो र यो रोग संक्रमित व्यक्तिको नजिक सम्पर्कमा आउँदा र संक्रमितले प्रयोग गरेको सामानहरू प्रयोग गर्दा सर्ने गर्छ। मंकीपोक्सको बारेमा स्वास्थ्य मन्त्रालयबाट प्रकाशित खबरहरूलाई सत्य मान्दै, मन्त्रालयको सूचनालाई नै मात्र अनुसरण गरी जथाभाबी लेखिएका हल्ला र अफवाहलाई नपत्याउनु आवश्यक छ।
