23 Apr, 2026, Thursday

खोज्नुहोस

जलवायु परिवर्तनको तीव्र असर: नेपालमा बढ्दो स्वास्थ्य र प्राकृतिक विपद् जोखिम

02 Aug,2024

मानव जीवन रहुन्जेलसम्म स्वास्थ्य समस्या रहिरहन्छ। बदलिँदो जलवायु परिवर्तन, खानपान, रहनसहन र जीवनशैलीले हाम्रो स्वास्थ्यमा प्रभाव पार्दछ। Intergovernmental Panel on Climate Change (IPCC) को छैटौं मूल्यांकन प्रतिवेदनले तीव्र रूपमा बढिरहेको पृथ्वीको तापक्रमले जलवायु परिवर्तनको असर पहिलेको अनुमान भन्दा चाँडो र अझ बढी प्रभाव पार्ने रूपमा हुने जनाएको छ। अनुसन्धान अनुसार पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसले बढेको र यसले गर्दा समुद्र सतह बढ्दै गएको र हिमतालहरू पनि पग्लिन थालेको जनाइएको छ। विशेषतः यसका असरले विपदहरू निम्त्याउने र जोखिम बढी रहेको क्षेत्र र समुदायमा बढी असर गर्ने देखिन्छ। बढ्दो शहरीकरण, उद्योग कलकारखाना, गाडी र अन्य साधनमा अत्यधिक प्रयोग हुने इन्धनले विशेषतः जलवायु परिवर्तनमा ठूलो असर गर्ने गर्छ।

नेपाल जस्तो अन्य कम विकसित मुलुकहरूले जलवायु परिवर्तनलाई थप प्रभाव पार्ने गतिविधि गरे पनि, यसको प्रत्यक्ष प्रभाव भने हामी जस्तै मुलुकलाई धेरै हुने गर्दछ। भौगोलिक रूपमा जोखिम बोकेको हाम्रो देश, अत्यधिक मात्रामा “कार्बन एमिसन” गर्ने दुई ठूला ठूला देशबीचमा रहनुले जलवायु परिवर्तनको प्रभाव हामीलाई प्रत्यक्ष पर्ने देखिन्छ। अव्यवस्थित खोलानाला, जोखिमपूर्ण बसोबास, अनियन्त्रित शहरीकरणको नतिजा यो वर्ष बाढी घर घरै पुगेको देख्न पायौं। जलवायु परिवर्तनले निम्त्याउने बाढी, पहिरो र यसैसँग आउने झाडापखला, डेङ्गी, मलेरिया जस्ता स्वास्थ्य समस्याको बारेमा हामीले बुझेर बेलैमा सतर्कता अपनाउनु पर्ने देखिन्छ।