मोरङका चार पत्रकार पुरस्कृत हुने
08 Jul,2024
बिराटनगर / असार २५ / संचारकर्मी संचार सहकारी संस्था लिमिटेडले मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । हिजो आइतबार बसेको संस्थाको बैठकले पुरस्कृत हुने पत्रकारहरुको नाम टुङ्गो लगाएको हो । पुरस्कृत हुने पत्रकार हरुमा मोहनप्रसाद भण्डारी, सुशिला पाठक, नबिनचन्द्र कर्ण र झुना भट्टराई हुनुहुन्छ । सबै पुरस्कारहरु आगामी असार २७ गते एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने छ ।
तोरेन्द्र – ईन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार – २०८१ उद्घोष दैनिकका सम्पादक मोहनप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ । गत २०७९ सालमा तोरेन्द्र-ईन्दिराकी छोरी डा. सम्झना प्रधानले स्थापना गर्नुभएको उक्त पुरस्कारबाट राजेन्द्र दाहाल र प्रमोद प्रधान पुरस्कृत भैसक्नु भएको छ । सो पुरस्कारको राशी ५१ हजार रुपैया रहेको छ ।
बरिष्ठ समाजसेबी दिनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको नाममा २०७५ सालमा स्थापना गर्नुभएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार २०८१ बाट कान्तिपुर टेलिभिजनकी पत्रकार सुशिला पाठकलाई पुरस्कृत गरिने भएको छ ।५० हजार राशिको यो पुरस्कारबाट भिम चापागाई,गजेन्द्र बुढाथोकी, अनन्तराज न्यौपाने, मिनकुमार श्रेष्ठ, मोहन मानन्धर र नबराज कट्टेल पुरस्कृत भैसक्नु भएको छ ।
गत २०७२ सालमा चन्द्रलाल- दुर्गादेबीका छोराहरु मुक्तिनाथ र दीपक दाहालले स्थापना गरेको मेम्बर चन्द्रलाल-दुर्गादेबी दाहाल संचार श्रमजीवी पुरस्कार – २०८१ बाट मकालु टेलिभिजनका पत्रकार नबिनचन्द्र कर्ण पुरस्कृत हुनुहुने भएको छ । २१ हजार रुपैया राशीको यो पुरस्कारबाट रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्दब घिमिरे, अभय राई, देबनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी र सन्तोष सिग्देल सम्मानित भैसक्नु भएको छ ।
मीनादेबी श्रेष्ठ महिला पत्रकारिता प्रोत्साहन पुरस्कार- २०८१ बाट झुना भट्टराई पुरस्कृत हुनुहुने भएको छ । गत २०७३ सालमा स्थापना भएको यो पुरस्कारबाट ईन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार र रन्जीता पोखरेल पुरस्कृत भैसक्नु भएको छ ।
संस्थाले आफ्नो स्थापना दिवसको दिन प्रत्येक असार २७ गते सबै पुरस्कारहरु प्रदान गर्ने गरेको छ ।यस बर्ष कोशी प्रदेशका मुख्यमन्त्री मा. हिक्मत कुमार कार्कीबाट पुरस्कारहरु प्रदान गरिने सम्भावना छ ।