23 Apr, 2026, Thursday

खोज्नुहोस

पाचबुदेको नाममा चलखेल नगर्न चेतावनी

13 Feb,2024

बिराटनगर / फागुन १ / राजबङ्शी समाज उत्थान समितिले पहिचानबादी र कोशी प्रदेश सरकारको बार्ता टोलीबीच हालै भएको ५ बुदे सहमतिको नाममा अस्वस्थकर चलखेल भएमा राजबङ्शीहरु चुपलागेर नबस्ने र त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ ।

बिराट राजबङ्शी उत्थान केन्द्रीय समिति, बिराटनगरले आफ्नो १७ औं आन्दोलनको जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त चेतवनी दिइएको हो ।

समितिका तर्फबाट सभापति भुबनेश्वर मण्डल राजबङ्शीले सो अवसरमा बोल्दै आफुहरुको २०६४ सालदेखिको आवाज आजसम्मका कुनैपनि सरकारले नसुनेकोमा दुख: ब्यक्त गर्दै तर एकदिन हाम्रा सबै जायज मागहरु अबश्य पूरा हुने बिश्वास ब्यक्त गर्नुभयो ।

समितिले उक्त पत्रकार सम्मेलनमा आफ्ना ६ बुदे माग पूरा गराउन आगामी फागुन ६ गते बिराटनगरमा १७ औं बृहत् भेला गर्न लागेको पनि जानकारी दिएको छ । सो अवसरमा बिराट राजबङ्शीहरुको बसोबास क्षेत्र सीमित रहेको र सङ्ख्या पनि ४० हजारको हाराहारीमा मात्र भएकोले प्रदेश सरकारले नै सबै माग पूरा गर्न सक्ने बिश्वास ब्यक्त गरिएको थियो ।

बिराट राजबङ्शी उत्थान समितिले अघि सारेका मागहरुमा आफुहरुलाई आदिबासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचीकृत गरिनु पर्ने, भेडियारी स्थित बिराट राजाको दरबार क्षेत्रको संरक्षण र सम्बर्द्धन गरि पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिनु पर्ने, राज्यको हरेक अङ्गमा बिराट राजबङ्शीको स्थान सुरक्षीत गरिनु पर्ने, बिराटनगरमा बिराट राजबङ्शीलाई प्रथम जातीको रुपमा घोषणा गरिनु पर्ने लगायत छन ।