सुकुम्बासीका माग
16 Jul,2026
बिराटनगर / २०८३ असार ३२ /
बिराटनगर – ४ स्थित नहर टोलका सुकुम्बासीहरुले आफुहरुको बसोबास उजाड्ने गरि प्रशासनले थालेको गतिविधिको तिब्र बिरोध जनाएका छन । उनिहरुले “पहिले ब्यबस्थापन, अनिमात्र बिस्थापन” को नारा अगाडि बढाएका छन ।

सुकुम्बासीहरुले जिल्लाको अबिभाबक भएर मोरङका प्रमुख जिल्ला अधिकारीले “१५ दिनभित्र सो ठाउँ नछोडेमा नागरिकता रद्द गर्ने, बिजुली-पानी काटिदिने, अन्य सुबिधाबाट पनि बन्चित गर्ने तथा ७ बर्षसम्म जेलमा कोचिदिन सक्छु” जस्ता कठोर र निरङ्कुश भाषा शैली प्रयोग गरेकोमा कडा आपत्ती जनाएका छन । नहर टोल सुकुम्बासी समुहका संयोजक रामकुमार पासवानद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
सुकुम्बासीहरुले आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि बिगत २०२० सालदेखी बसोबास गर्दै आएका ६५ परिबारका ६०० भन्दा बढी हामी पनि नेपाली जनता नै हौ, यो वर्षा तथा बाढीमा हामी कहाँ जाने ?, के खाने ?, के यो देश धनीमानी र बलिया शासकहरुको मात्रै हो ? भन्ने प्रश्न गरेका छन ।
हामी बसेको सो ऐलानी जमिन एक बिगाह, दस कट्ठा भन्दा बढी छ र गत २०७७ सालमा उच्च अदालत, बिराटनगरले आफ्नो नाममा दर्ता गरेको रहेछ । अहिले सो जमिन अतिक्रमण भएको दाबी गर्दै उच्च अदालत, बिराटनगरले अतिक्रमण हटाउन बिराटनगर महानगर पालिकालाई पत्राचार गरेको छ । अहिले त्यही पत्रका आधारमा हामीलाई बिपत्तिमा धकेल्न प्रशासन लागिपरेको छ भन्दै सुकुम्बासीहरुले पहिले ब्यबस्थापन नगरी बिस्थापन गरिएमा कडा संघर्षमा उत्रने चेतावनी दिएका छन ।