कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति
25 Jun,2026
काठमाडौं ।
कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा गम्भीर लापरबाही भएको र पुन:योग (रिटोटलिङ) तथा पुनर्मूल्याङ्कनको व्यवस्था प्रभावकारी नभएको आरोप लगाउँदै उनीहरू सडक आन्दोलनमा उत्रिन लागेका हुन्।
उक्त विरोध कार्यक्रमको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरिरहेका छन्। आन्दोलनलाई देशव्यापी बनाउन उनीहरूले टिकटक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालहरूमार्फत आम विद्यार्थीहरूलाई माइतीघर आउन आह्वान गरिरहेका छन्।
आन्दोलनको तयारीबारे बोल्दै विद्यार्थी नेता रञ्जित कार्कीले हतारमा नतिजा निकाल्ने बहानामा बोर्डले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरेको आरोप लगाए।
“हामीमाथि सरासर अन्याय भएको छ। नतिजामा देखिएका प्राविधिक र व्यावहारिक त्रुटिका कारण धेरै विद्यार्थीहरू छात्रवृत्तिका लागि आवेदन दिनबाट समेत वञ्चित भएका छन्। सोचे अनुरूपको नतिजा नआएपछि हामी बाध्य भएर सडकमा आउनु परेको हो,” कार्कीले भने।
शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति प्राप्त
आयोजकहरूका अनुसार उक्त विरोध प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पूर्वस्वीकृति लिइसकिएको छ। कार्यक्रमलाई पूर्ण रूपमा मर्यादित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग आवश्यक सुरक्षा समन्वय समेत भइसकेको उनीहरूले जानकारी दिएका छन्।

विद्यार्थीका मुख्य मागहरू:
- परीक्षाफलको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने।
- निःशुल्क रिटोटलिङ र उत्तरपुस्तिका पुनर्परीक्षणको व्यवस्था गरिनुपर्ने।
- मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता कायम गरिनुपर्ने।

मानसिक तनाव र चेतावनी
नतिजा प्रकाशनपछि चित्तबुझ्दो अङ्क नआउँदा अहिलेसम्म चार जना विद्यार्थीले आत्महत्या गरिसकेको र हजारौँ विद्यार्थीहरू चरम मानसिक तनावबाट गुज्रिरहेको दाबी आयोजकहरूले गरेका छन्। यो विषय अङ्कको मात्र नभई हजारौँ युवाको भविष्यसँग जोडिएको भन्दै उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
विद्यार्थी, अभिभावक तथा शिक्षा सरोकारवालाहरूलाई माइतीघर मण्डलामा उपस्थित भई ऐक्यबद्धता जनाउन अपिल गरिएको छ। आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए आन्दोलनलाई थप सशक्त र देशव्यापी बनाउने चेतावनी समेत विद्यार्थीहरूले दिएका छन्।