षष्टिका बस्नेत पुरस्कार लम्जेललाई
30 Mar,2026
बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको “षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार” नेपाल पत्रकार महासंघ, धनकुटा शाखाका सचिब तथा अन्नपुर्ण पोष्ट दैनिकका पत्रकार हरिबहादुर लम्जेललाई प्रदान गरिएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले लम्जेललाई सो पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको हो । सो पुरस्कारको राशी रु. २५०२५/= रहेको छ ।

नेपाल पत्रकार महासंघ, मोरङ शाखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमूख अतिथि कानून मन्त्री ईन्द्रमणी पराजुलीले मुलुक र समाज यतिखेर रुपान्तरणको अभियानमा रहेको बताउदै तर रुपान्तरण निषेध र द्वन्दतर्फ उन्मुख हुन नहुने बताउनु भयो । उहाले देशमा बिधीको शासनको स्थापना हुनुपर्ने स्पष्ट गर्नुभयो ।

बिराटनगरका समाजसेवी केदारबहादुर बस्नेतले आफ्नी स्वर्गीय पत्नी षष्टिका बस्नेतको नाममा गत २०७३ सालमा सो पुरस्कारको स्थापना गर्नुभएको थियो । उहाले ७ लाख रुपैयाको अक्षय कोषको ब्यबस्था गर्नुभएको छ । सो को ब्याजबाट दुईवटा पुरस्कार प्रदान गर्ने गरिएको छ । नेपाल पत्रकार महासंघको स्थापना दिबसको दिन चैत्र १६ गते पुरस्कार प्रदान गर्नेगरी महासंघको मोरङ शाखाले यसको ब्यबस्थापन गर्दै आएको छ । प्रत्येक बर्ष एकलाख रुपैया राशीको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार र पचिस हजार पचिस राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएकोमा बैंकको ब्याज घटेको कारण यसैबर्षदेखि पालै पालो बर्षको एउटा मात्र पुरस्कार प्रदान गर्ने गरिएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ, मोरङ शाखाले प्रकाशन गरेको २०८३ सालको क्यालेण्डर सार्बजनिक गरिएको थियो ।
नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासंघका पुर्ब अध्यक्ष मोहन भण्डारी, उपाध्यक्ष सन्तोष सिग्देल,सह सचिब रेवती रमण निरौला, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारीले आ- आफ्नो बिचार राख्नुभएको थियो ।