२०७६ भदौ १

काँग्रेस ‘कन्भिन्स’ भए नेविसंघको म्याद थपिने, नत्र विघटन

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप बारे बुधबारको काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुँदैछ ।

म्याद थप्ने वा नपथ्ने भन्ने विषयमा सभापति शेर बहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुरा नमिलेपछि गत भदौ महिनामा सकिएको म्याद समेत अहिलेसम्म थप्दै आईएको छ ।

विधानमा नै भने अनुसार म्याद सकिएको ३ महिनासम्म मात्रै कार्यसमितिको म्याद थप गर्न मिल्नेमा केन्द्रीय समितिको बैठकले ५ महिनासम्मको लागि म्याद थपिएको थियो । यसरी ५ महिनाको लागि थपिएको म्याद समेत माघ २ गते सकिएको थियो ।

माघ २ गते सकिएको म्याद माघ १० गते बस्ने केन्द्रीय समिति बैठकको निर्णय अनुसार हुने भनिएकोमा १० गतेपछिको बैठकमा समेत नेविसंघको कार्यसमितिको समयबारे केही निर्णय हुन सकेको छैन ।

बुधबार केन्द्रीय समिति बैठक काँग्रेस केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठकको बीचमा नै पत्रकारहरुसँगको कुराकानीका क्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको म्याद थपको विषयमा विधानको व्यवस्था नै पढेर सुनाए ।

उनले बुधबारको केन्द्रीय समिति बैठक म्याद थपको विषयमा सहमत भएमा मात्रै नेविसंघको म्याद थप हुने नभए यो बुधबारदेखि नै विघटन हुने जानकारी दिए । काँग्रेसभित्र सहमती भएको खण्डमा मात्रै बुधबार नेविसंघको म्याद थप हुने बुझिएको छ ।

Loading...