२०७५ फागुुण ५

खाँदबारी नगर मेयर कपको उपाधि भाेजपुरकाे षडानन्दलाई

संखुवासभा । खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिका भोजपुरले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा सभापोखरी गाउँपालिकालाई २५–१३, २५–२० र २५–१४ को सोझो सेटमा हराउदै षडानन्दले उपाधि चुमेको हो ।
उपाधिसंगै षडानन्द नगरपालिकाले नगद १ लाख ३४ हजार नगद सहित रनिङ शिल्ड, पदक र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको सभापोखरी गाउँपालिकाले नगद ६७ हजार सहित ट्रफी, पदक र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा सेमिफाईनल प्रवेश गर्ने दुवै टिमले जनही ३३ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
षडानन्द नगरपालिकाले सेमिफाइनलमा मकालु गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउदै फाइनल प्रवेश गरेको थियो भने सभापोखरी गाउँपालिकाले सेमिफाइनलमा पाँचखपन नगरपालिकालाई ३–२ को सेटमा हराउदै फाइनल पुगेको थियो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी षडानन्दका प्रदिप श्रेष्ठ, अनुसासित टिम मकालु गाउँपालिका, उत्कृष्ट डिफेन्डर पाँचखपन नगरपालिकाका सन्देश राई, उत्कृष्ट लिफ्टर षडानन्दका दमन उदास र उत्कृष्ट स्पाइकर सभापोखरी गाउँपालिकाका भवानी बाह्रकोटी घोषित भएका छन् ।
खाँदबारी नगरपालिकाका प्रथम मेयर स्वर्गिय किरण शाक्यको सम्झना तथा खाँदबारी नगरपालिकाको स्थापना दिवशको अवसरमा भएको प्रतियोगितामा सङ्खुवासभाका १० र भोजपुरका दुई स्थानिय तहको सहभागिता रहेको थियो ।

Loading...