२०७६ असार ४

समुन्द्रमाथि चीनले बनायो संसारकै लामो पुल

एजेन्सीः चीनले समुद्रमाथि संसारकै लामो पुल बनाएको छ। चिनियाँ राष्ट्रपति सी चीनफिङले मंगलबार एक भव्य समारोहबीच हङकङ र मकाउलाई मेनल्याण्ड चाइनाको जुहाईसँग जोड्ने उक्त पुलको उद्घाटन गरेका छन्।

५५ किलोमिटर लामो पुल मध्ये २२.९ किलोमिटर समुद्रमाथि छ भने ६.७ किलोमिटर समुद्रमुनि टनेल खनिएको छ। टनेल जोड्न दुइटा कृत्रिम टापु पनि निर्माण गरिएको छ। यो समुद्रमाथि बनेको संसारकै लामो र सबै पुलहरूमध्ये छैंठौं लामो पुल हो। संसारकै लामा ४ वटा पुल पनि चीनमै छन् भने एउटा ताइवानमा छ।

२००९ मा निर्माण सुरू गरिएको यो पुल निर्धारित समयभन्दा २ वर्ष ढिला गरी यही वर्षको जनवरीमा सम्पन्न भएको थियो। यो पुल बनाउन कति रकम खर्च भयो भन्ने खुलाइएको छैन। तर सुरूमा अनुमानित लागतभन्दा तीन गुणा बढी पैसा खर्च भएको बताइएको छ।

पुल बनाउन हङकङ एक्लैले १५.३ अर्ब अमेरिकी डलर लगानी गरेको छ। आलोचकहरूले भने बेइजिङले अर्धस्वायत्त हङकङ र मकाउमाथि राजनीतिक नियन्त्रण बढाउन यो पुल बनाइएको भन्दै आलोचना गरेका छन्। पुल बनाउने क्रममा सुरक्षाको कुरामा पनि विवाद भएको थियो।

८ म्याग्नेच्युडसम्मको भूकम्प र आँधी थेग्ने यो पुल बनाउने क्रममा दश जना कामदारले ज्यान गुमाएका थिए भने ६०० जना घाइते भएका थिए। यो पुलले दक्षिणी चीनको आर्थिक र पर्यटकीय विकासमा योगदान दिने चीनको विश्वास छ।

Loading...