२०७६ कार्तिक २६

यस कारण धरानको मेयरमा तिलक राईले जित्नु पर्छ

धरान । नेपालका सुन्दर र सभ्य शहरहरुको गणनामा धरान अग्रपंक्तिमा आउने शहर हो । प्रदेश १ को मात्र नभएर आधुनिक नेपाल र सभ्यताको अभियन्ता शहरको रुपमा धरानलाई लिने गरिन्छ । प्राचीन र ऐतिहाँसिक महत्व बोकेको धरानलाई अहिले स्थानिय तहको उप–निर्वाचनको माहोलले ढपक्कै छोपेको छ ।

तत्कालिन नगर प्रमुख तारा सुब्बाको निधन भए पश्चात रिक्त रहको प्रमुख पदमा आसन्न मंसिर १४ गते निर्वाचन हुदैछ । यहि निर्वाचन मार्फत धराने जनता आफ्नो भाग्य र भविष्यको फैसला गर्दैछन् । आज सम्मका नगर निर्वाचनमा प्रमुख पदमा आफ्नो जित दर्ता गर्न सकेको छैन र लामो समयदेखि सत्तारुढ नेकपाले धरानमा शासन गर्दै आईरहेको छ । हरेक निर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएकाले नेकपाले धरानलाई आफ्नो गढको रुपमा व्याख्या गर्दै आईरहेको छ ।

यहि सेरोफेरोमा मुलुकको पुरानो एवं प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले आसन्न उप–निर्वाचनका लागि बेलैमा आफ्नो दलको तर्फबाट उम्मेद्वार सिफारिस गरिसकेको छ । इतिहासमै पहिलो पटक अभुतपुर्व एकता कायम गर्दै नेपाली काँग्रेसले आफ्नो पार्टीको तर्फबाट धरान उप–महानगर समितिका सभापति तिलक राईलाई सर्वसम्मत रुपमा मेयर पदमा उठाउन जिल्ला कार्यसमिति र केन्द्रिय कार्यसमितिलाई सिफारिस गरेको छ । यस अर्थमा तिलक राई नै आसन्न निर्वाचनमा काँग्रेसको तर्फबाट मेयर पदको उम्मेद्वार बन्ने निश्चित भईसकेको छ ।

धरानका रैथाने तिलक राई मजदुर पृष्ठभुमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता हुन । दर्जनौ सामाजिक संघ संस्थामा समेत सक्रिय राई नेपाली काँग्रेस किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष समेत भए । आफ्नो राजनितिक तथा सामाजिक जिम्मेवारी ईमान्दारीताका साथ निर्वाह गर्ने छवि बनाएका राईले गत निर्वाचनमा अत्यन्त छोटो समयमा टिकट पाएर पनि तत्कालिन मेयर तारा सुब्बालाई कडा चुनौती पेश गरेका थिए तर यो पटक परिस्थिति फेरिएको छ ।

लामो समय सम्म धरानको नेतृत्व गरेर पनि धरानलाई यथास्थितिमै राखेको आरोप लागेको सत्तारुढ नेकपाले तत्कालिन एमाले र माओवादी केन्द्रको एकता गरेपछि अहिले नेकपाभित्रै मेयर पदका आकाक्षीको धेरै छन् त्यसैले नेकपालाई आफ्नो उम्मेद्वार छान्न सकस परिरहेको बेला नेपाली काँग्रेसले एक ढिक्का भई सर्वसम्मत रुपमा आफ्नो उम्मेद्वारको रुपमा तिलक राईलाई अघि सारिसकेको छ ।

विगतमा स्थानिय तहमा कम्युनिष्टहरु पटक पटक विजयी भए पनि जनताले दिएको जिम्मेवारी अपेक्षाकृत रुपमा पुरा गर्न नसकेको र स्थानिय तह मार्फत हुने विकास निर्माणका कार्यहरुमा ठुलो भ्रष्टाचार भएकाले यसपटक धराने जनताहरुले परिवर्तन चाहेकाले आफ्नो जित सुनिश्चित रहेको नेपाली काँग्रेसले दाबी गरेको छ । नेपालकै ऐतिहासिक शहर धरानमा हालसम्म भएका सबै निर्वाचनमा नेकपाका उम्मेद्वारहरु जनतालाई विभिन्न आश्वासन बाँड्दै विजयी भएपनि जनताको अपेक्षा पुरा गर्न सकेनन ।

जनताको आशालाई निरासामा परिणत गरेको स्थानिय सरकारको विकल्प खोज्न तयार धराने जनताहरु दर्जनौ सामाजिक गतिविधि र धरानको हितका पक्षमा अनवरत संघर्षरत युवा उम्मेद्वार तिलक राईलाई धरान नगरको नेतृत्वमा स्थापित गर्ने चर्चा थालेका छन् । त्यसर्थ निम्न कारणहरुले धरानको भावी मेयरमा नेपाली काँग्रेसका उम्मेद्वार तिलक राई विजयी हुनुपर्ने चर्चा चल्न थालेको छ ।

१) धरानका स्थानीय जनताहरुमाझ अहिले पर्यटकीय एवम धार्मिक महत्वका हिसाबले धरानको संभावना अथाहा हुँदाहुदै नेतृत्व वर्गले उपयुक्त भिजन तथा निति कार्यान्वयन नगर्दा धरान जहाँको त्यही रहेको र काँग्रेसले पर्यटन र धार्मिक सर्किटका विषयलाई आफ्नो मुद्दा बनाएकाले आगामी निर्वाचनमा काँग्रेसलाई अवसर दिई धरानलाई यथास्थितिबाट मुक्त गराउनुपर्ने राय धरानका आम नागरिकहरुले व्यक्त गर्न थालेका छन् ।
२) पहिले धरान नेपालका पुर्वी पहाडी जिल्लाहरुका लागि खाद्यान्न, लत्ताकपडा देखि अन्य अत्यावश्यकिय सामाग्रीहरु उपलब्ध गराउने ब्यापारिक हबको रुपमा परिचित थियो । ठुला ठुला व्यवसायिक प्रतिष्ठानहरु वितरक र होलसेलको रुपमा यहाँ कारोबार गर्दथे तर उपयुक्त औद्योगिक तथा व्यापारिक नीतिको अभावमा आज ती व्यवसाय इटहरी बिराटनगर स्थानान्तरण भएका छन । आर्थिक उदारिकरणको हिमायती नेपाली काँग्रेस औद्योगिक तथा व्यवसायिक पुर्नउत्थानका पक्षमा रहेको उद्योगी, व्यापारी वर्गको सहयोग नेपाली काँग्रेसलाई हुने संभावना प्रबल भएकाले काँग्रेसको संभावना बलियो बन्दै गएको छ ।

३) गत स्थानिय निर्वाचन जिते पश्चात धरानमा स्थानीय सरकारले लगाउने करमा अत्याधिक बृद्धि भएको कारण जनताको ढाड सेकिएको छ । करबृद्धिको नेपाली काँग्रेस तथा आम नागरिकहरुले कडा बिरोध गरेका छन् । यदि नेपाली काँग्रेसले जितेको खण्डमा चर्को करबृद्धिबाट आहात जनता र व्यवसायीलाई राहत दिनेगरी सहुलियत करका दर निर्धारण गरी राहत दिने बाचा गरेकाले काँग्रेस प्रतिको भरोसा र विश्वास बढ्दो छ ।

४) जनसंख्याका हिसाबले धरानमा सबैभन्दा बढि जनसंख्या राई जातिको छ र धरानको निर्वाचन जातीय उपस्थितिका कारणले समेत प्रभावित हुने गरेको छ । काँग्रेसका उम्मेद्वार तिलक राई आँफै किराँत राई यायोख्याको केन्द्रीय अध्यक्ष भई आदिवासी, जनजाती, उत्पीडित वर्ग र समग्र धरानबासीका पक्षमा अनबरत क्रियाशिल रहेकाले राई लगायत आदिवासी समुदायको भोट उनले प्राप्त गर्ने संभावना दिनहु बलियो बन्दैछ ।

५) धरानको ठुलो समस्या भनेको खानेपानीको समस्या हो । नेपाली काँग्रेसले धरानमा खानेपानी समस्या समाधानका लागि स्थानिय सरकारलाई लामो समयदेखि घच्घच्याईरहेको छ । खानेपानी ल्याउने योजना समेत बताईसकेको छ । खानेपानी समस्या समाधान गर्ने प्रष्ट भिजन र योजना काँग्रेस सँग भएको कारण धराने जनताले यो पटक काँग्रेसलाई भोट दिएर जिताउने संभावना प्रबल रहेको सरोकारवालाहरुले बताउँन थालेका छन् ।

६) तिलक राई आँफैमा बहुआयामिक व्यक्तित्व र दुरदर्शी नेतृत्व क्षमता भएका प्रभावशाली युवा राजनितिज्ञ हुन् । मजदुर वर्गबाट राजनितिमा उदाएका राई आफुले पाएको जिम्मेवारी इमान्दार साथ पुरा गर्ने छन । सञ्चारपाटीबाट

Loading...