२०७६ कार्तिक ५

दसैंको टिकट बुकिङ आजबाट सुरु, पहिलो दिन नै भीडभाड

काठमाडौं । दसैंको अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा टिकट काट्न यात्रुहरुको भीड लागेको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच यही २६ गते बसेको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो ।

व्यवसायी र विभागको सहमतिअनुसार आजबाट काठमाडौंदेखि पूर्व–पश्चिमका सबै स्थानसम्म पुग्ने लामो दुरीका सवारी साधनको टिकट खुलेको छ । उपत्यकाबाट मात्रै विभिन्न जिल्लामा विशेष गरी दसैं मनाउन २० देखि २५ लाख यात्रु बाहिरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अग्रिम टिकट बुकिङ खुला गरेसँगै यी संख्याका यात्रुलाई टिकट काट्न सहज हुने भएकाले सरोकारवालाको सहमतिपछि आजबाट अग्रिम टिकट बुकिङ खुलेको हो । अघिल्लो वर्षभन्दा यसवर्ष टिकट काट्न सहज भएको नयाँ बसपार्कमा टिकट काट्दै गरेका यात्रुहरुले बताएका छन् ।

हरेक वर्ष दसैंको समयमा बसभाडा बढाएर मात्र अग्रिम टिकट बुकिङ खोल्ने व्यवसायीले यसवर्ष भने सरकारसँग भाडा बढाएपछि मात्र टिकट खोल्ने शर्त नतेर्स्याएका कारण सर्वसाधारण यात्रुले सहजै टिकट काट्न पाएका हुन् ।

“अघिल्लो वर्षभन्दा यसपटक टिकट काट्न केही सजिलो लाग्यो,” १७ गते उर्लाबारी जान बसको टिकट काटेकी मोरङकी सुनिता राईले भनिन्, “काउन्टरबाट सजिलै टिकट पाएकाले यो पटक भीड र लाइन पनि फोहोरको जस्ता लागेन । सजिलै टिकट काट्न पाइयो ।”

नयाँ बसपार्कमा यात्रुको सहजताका लागि स्थापना गरिएको यात्रु सहायता कक्षबाट पनि यात्रुले आवश्यक सोधपुछका लागि सहयोग पाइरहेको सहायता कक्षमा कार्यरत प्रहरी हवल्दार नमिता तामाङले बताइन् । पहिलो दिन भएकाले आइतबार दिउँसोसम्म नयाँ बसपार्कबाट ५०० देखि १ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरेको यातायात व्यवसायीहरुको आकलन छ ।

“पहिलो दिन भएकाले कतिको संख्यमा टिकट काटिन्छ जानकारी छैन । आज कति टिकट काटिन्छ, भोलि, पर्सिदेखि जानकारीमा आउँछ,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, “पहिलो दिन भएकाले पहाडका केही स्थानका टिकट खुलेको छैन । भोलिदेखि क्रमशः खुल्दै जानेछ ।”

विभाग र महाशाखाको सहकार्यमा ललितपुर, भक्तपुर र काठमाडौंका १६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिहान ५ देखि बेलुका सात बजेसम्मको समयमा यात्रुले अग्रिम टिकट काट्न सक्ने महासंघले बताएको छ । आइतबार बिहानबाट खुलेको अग्रिम टिकट बुकिङ २० गते सोमबारसम्म जारी रहने छ ।

तोकिएको भाडादरमा टिकट काट्न प्रहरीको आग्रह

सरकारले तोकेको भाडादरमा टिकट काट्न सर्वसाधारण यात्रुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।

डिलक्स, एसी र सुपर डिलक्सका नाममा व्यवसायीले यात्रुसँग बढी रकममा टिकट काट्ने प्रवृत्ति मौलाएपछि महाशाखाले यात्रुलाई सचेत गराएको हो । यातायात व्यवस्था विभागले सुविधासम्पन्न बसले १० देखि २० प्रतिशतसम्म बढी भाडा लिनसक्ने व्यवस्था गरेको छ ।

तर दसैंमा यात्रुको चाप बढी हुनाले साधारण र पुराना बसले समेत सुविधासम्पन्न बसका नामामा यात्रुबाट बढी पैसा खसुल्ने गरेका छन् । “यस्तो थाहा पाएमा यात्रु सहायता कक्षमा रहेका प्रहरीहरुलाई खबर गरेर त्यस्ता व्यवसायीलाई तत्कालै कारबाहीको व्यवस्था गरिएको हुँदा यात्रु वर्ग आफै चनाखो हुन आग्रह गरिन्छ,” महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालले भने, “काठमाडौंबाहिर पनि जुनसुकै स्थानमा १०० मा कल गरेर बढी भाडा असुल्नेलगायत ट्राफिक नियम नमान्ने चालकलाई कारबाहीका लागि प्रहरीलाई सहयोग गर्न अनुरोध गरिन्छ

Loading...