२०७६ कार्तिक २६

दाहाल र देउवालाई भेटेपछि चिनियाँ विदेशमन्त्री आज फर्किँदै, भेटघाटपछि जारी वक्तव्यमा के छ र?

काठमाडौं । नेपालको तीनदिने भ्रमणका लागि आइतबार आएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आज बिहान केही राजनीतिक भेटघाटपछि भ्रमण पूरा गरेर दिउँसो स्वदेश फर्किँदै छन् । उनको भ्रमणको दोस्रो दिन राति परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग प्रतिनिधिमण्डल स्तरको भेटवार्ता गरेको जनाइएको छ ।

वक्तव्यमा दुवै परराष्ट्र मन्त्रीले दुई देशबीचको सबै महत्वपूर्ण पक्षका बारेमा पुनरवलोकन गरेको जनाइएको छ । दुवै परराष्ट्रमन्त्रीले पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध अझ विस्तार र गहिरो हुँदै गएकोमा सन्तोष व्यक्त गर्दैै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्ने विषयमा कुरा भएको जनाइएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको सामाजिक –आर्थिक विकासमा चीनको निरन्तर सहयोग र कनेक्टिभिटी, पूर्वाधार, उर्जा र शिक्षाको क्षेत्रमा सहयोग बृद्धि गरेकोमा सह्राहना गरेका थिए ।

सो अवसरमा चीनका विदेशमन्त्रीले नेपालको विकास प्रयासमा चीनको सहयोगको प्रतिबद्धता जनाएका थिए । यसैगरी दुवै पक्षले व्यापार, लगानी र पर्यटनको क्षेत्रमा केन्द्रीत रहेर दुई पक्षीय आर्थिक सहयोगको बारेमा धारणा राखेका थिए । दुबै पक्षले दुई देशबीच उच्चस्तरको भ्रमण नियमित हुनुपर्ने कुरामा जोड दिँदै आपसी विश्वास र आत्मविश्वास तथा दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ गर्नका लागि उच्चस्तरीय भ्रमणको महत्वबारेमा सो अवसरमा चर्चा गरेका थिए ।

दुई मन्त्रीले सो अवसरमा विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनमा पनि जोड दिएका थिए । दुवै पक्षले आपसी चासोका क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग निरन्तर कायम राख्ने कुरामा पनि सहमति जनाएका छन् । दुईपक्षीय वार्ताका क्रममा दुई मन्त्रीको उपस्थितिमा मनाङमा अस्पताल निर्माण परियोजना, आपतकालीन सेल्टरका लागि ५ हजार थान पाल चीनले उपलब्ध गराउने तथा नेपालमा चीनका स्वयंसेवी शिक्षकको बारेमा समझदारीपत्रमा हस्ताक्षर गरी आदान प्रदान गरिएको वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी, सोमबार नै चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शिष्टाचार भेट गरेका थिए । साँझ परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी र उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको कार्यक्रम गरिएको समेत वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनमा दुबै देशका परराष्ट्र मन्त्रीले जोड दिएको चर्चा गरिए पनि नाम नै किटेर निकै चासो रहेको रेलको विषय भने उल्लेख गरिएको छैन । त्यसैगरी उच्चस्तरीय भ्रमण आदानप्रदानको चर्चा गरिएको भए पनि चिनियाँ राष्ट्रपतिको आगामी भ्रमणलाई नै तोकेर भने केही पनि भनिएको छैन ।

चिनियाँ विदेशमन्त्रीले आज बिहान सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैसँग छुट्टाछुट्टै आधा घण्टाका दरले भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी दिउँसो स्वदेश फर्किनेछन् । उनी इश्लामावादमा भएको चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय बैठकमा भाग लिएर आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।

Loading...