२०७६ असोज ३

झापामा ठूलो परिमाणको गाँजा बरामद

झापा, साउन ३१ । झापा प्रहरीले बिहीबार साँझ शिवसताक्षी नगरबाट ठूलो परिमाणको गाँजा र त्यसका कारोबारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषधविरुद्धका अभियन्ताले वडा नम्बर ११ दुधेबाट १२ किलो ग्राम परिमाणको गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय दिलबहादुर मगरको घरबाट ८ किलो, नरबहादुर मगरको घरबाट तीन किलो र ताराबहादुर कुँवरको घरबाट एक किलोग्राम गाँजा बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोली र लागुऔषधविरुद्धको अभियानका युवाले गाँजाका कारोबारी दिलबहादुर मगर , नरवहादुर मगर र तारावहादुर कुँवरलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि झिलझिलेको अनुसन्धान कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुई साताअघिमात्र झापाको काँकडभिट्टाबाट सरुवा भई आएका प्रहरी निरीक्षक ठाकुरको टोलीले शिवसताक्षी नगरबाट मात्रै सात जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ ्। काँकडभिट्टामा रहँदा प्रहरी निरीक्षक ठाकुर मुद्दा शाखाको इन्चार्ज थिए । झिलझिलेमा सरुवा भएर आएदेखि नै ठाकुरले लागुऔषधविरुद्धको अभियानमा स्थानीय युवासँग सहकार्य गरिरहेका छन । प्रनि ठाकुर लागु औषधका जानकार मानिन्छन् ।
तीन दिनको अवधिमा पक्राउ परेका लागुऔषध प्रयोगकर्ता र सोका कारोबारीमध्ये केहीलाई सुधार केन्द्र पठाइएको र केहीलाई कानुनी कारबाहीका लागि अनुसन्धानकै क्रममा राखिएको ठाकुरले बताए । गाँजासहित पक्राउ परेका मगरले आफूले दश वर्षदेखि गाँजाको व्यापार गर्दै आएको खुलासा गरेका छन् ।
उनले पाँचथरको रविबाट गाँजा खरिद गरेर झापामा अवैध व्यापार गर्दै आएको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् । मगरको घरमा शिवसताक्षीसहित दमक, कनकाई, कमल, बिर्तामोेड लगायतका स्थानबाट युवा गाँजा सेवनको लागि आउने गरेको प्रहरीले बताएको छ ।

Loading...