२०७६ कार्तिक २६

मानिसजस्तै रोबोट १ मानव अस्तित्वमाथि खतरा

काठमाडौं, १४ साउन । पछिल्ला केही समय मानिसजस्तै रोबोट बनाउने ट्रेन्ड बसेको छ । के मानिसजस्तै मेसिनको निर्माण डर लाग्दो काम होइन ? यो भविष्यका निम्ति एउटा खतरा होइन ? यस्तो आविष्कार स्वयम्मा मानव अस्तित्वमाथि सङ्कट होइन ? अकल्पनीय वैज्ञानिक आविष्कारहरुले यी र यस्ता थुप्रै प्रश्न एक्काइसौं शताब्दीका मानिससामु तेस्र्यादिएको छ ।

डा. बेन गोएर्टजेलले एक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर तयार गरे । यसकै आधारमा सोफिया नामको रोबोर्ट तयार भयो, जुन मानवजस्तै देखिने रोबोट हो । हङकङस्थित कम्पनी ह्यानसन रोबोटिक्सले यसको निर्माण गरेको हो ।

रोबोट मानिसजस्तै देखिनुपर्ने डा. गोएर्टजेलको भनाइ छ । यसले मानिसमा रोबोटप्रतिको सन्देश हट्ने उनी बताउँछन् । ‘‘आगामी दिनमा रोबोट मानिसजस्तै हुनेछ र यसलाई मानिसले मन पराउने छन्,’’ उनी भन्छन्, ‘‘मलाई लाग्छ, सफ्टबैङ्कको पेपर रोबोट नराम्रो देखिन्छ । तर सोफिया तपाईंको आँखामा हेर्नेछिन् र यिनले तपाईंको जस्तै अनुहार बनाउन सक्छिन् । यो नितान्त नौलो अनुभव हुनेछ, पेपर रोबोटको छातीमा रहेको मनिटरमा हेर्नुभन्दा ।’’

अहिलेसम्म २० वटा सोफिया रोबोट बनिसकेको छ, जसमध्ये ६ वटा संसारभर प्रयोगमा छ । यी रोबोटको प्रयोग भाषण गर्न र प्रविधि प्रशिक्षणमा गरिएको छ ।

थुप्रै कम्पनीहरुले ग्राहक आकर्षित गर्नका लागि सोफिया प्रयोग गर्ने उद्देश्यले ह्यानसन रोबोटिक्समा सम्पर्क गरेका छन् । तर के स्ष्ट छ भने, चाहे सोफिया होस् चाहे पेपर रोबोटजस्तै मानव रोबोट, अहिले पनि यसको निर्माण निकै महँगो पर्छ । यो तथ्यमा डा. गोएर्टजेल सहमत छन्, तर कतिपय राबोटिस्ट यसलाई मान्दैनन् ।

रोबोट विद्रोही पनि हुन सक्छ ?

इन्ट्युसन रोबोटिक्सका सहसंस्थापक तथा मुख्य कार्यैकारी डा. क्स्युलर रोबोट मानिसजस्तै देखिने र बोल्ने हुन नहुने बताउँछन् । यसमा उनको सख्त विरोध छ । उनको कम्पनी एलिक्यु नामक सानो आकारको सामाजिक रोबोट बनाउँछ । यो रोबोट कुरा गर्न र प्रश्नको जवाफ दिन सक्छ ।  एलिक्युका प्रयोगकर्तालाई सम्झाउनुपर्छ कि, यो एउटा मेसिन हो कुनै मानिस होइन । रोबोटलाई मानिस बनाउनु निश्चित रुपमा पीडादायी कार्य हो । उनी ‘अनकेनी भ्याली’ लाई लिएर निकै चिन्तित छन् ।

रोबोटिस्ट मसाहिरो मोरीको विचारमा रोबोट जति मानिसजस्तै हुँदै जान्छ उति नै त्यसबाट डराउनुपर्ने हुन्छ र त्यो विद्रोही हुने डर हुन्छ । नैतिक रुपमा पनि रोबोट मानिसजस्तै हुने कुराको कल्पना नै गलत छ ।

रोबोटलाई कानुनी अधिकार हुन्छ ?

कुनै समय यस्तो पनि आउनेछ, मानिसलाई यो रोबोट हो–केही पनि होइन भन्ने थाहा हुनेछ र त्यसबेला ऊ आफू ठगिएको महसुस गर्नेछ ।

‘‘तपाईंलाई बेबकुफ बनाउनु र जे तपाईंलाई चाहिन्छ त्यो दिनुबीच कुनै सम्बन्ध छैन,’’ मोरी भन्छन्, ‘‘एलिक्यु निकै प्रिय छ र यो तपाईंको साथी पनि हो । आफ्नो शोधकार्यमुताबिक के पनि भन्न सकिन्छ भने– यसले एउटा सकारात्मक आत्मीयता दिन सक्छ र एक्लोपनबाट छुट्कारा दिलाउन सक्छ, त्यो पनि मानिस बन्ने नाटक नगरिकनै ।’’

कार्नेगी मेलन विश्वविद्यालयका रोबोटिक्स इन्स्टिच्युटका शोध प्राध्यापक डा. रिड सिमन्स पनि यो विचारसँग सहमत छन् । ‘‘मान्छेजस्तै बन्नुभन्दा एउटा रोबोटले आँखा झिम्काउनु र विशेष केही गर्न सक्नु ठूलो कुरा हो भन्ने हामीमध्ये अधिकांश मान्छौं,’’ उनी भन्छन्, ‘‘अनकेनी भ्यालीजस्ता स्थितिसँग टाढा रहन जरुरी छ, किनकि यसले प्रविधिले कुनै पनि हालतमा पूरा गर्न नसक्ने कतिपय आकाङ्क्षा जन्माइदिन्छ ।’’

सिङ्गुल्यारिटिनेट यस्तो प्लेटफर्म हो जहाँ डेभलपर्सहरु आर्टिफिसियल इन्टेलिजेन्स एप्स तयार गर्न सक्छन् । त्यसको उपयोग सोफियाजस्ता रोबोटमा गर्न सकिन्छ । यसका संस्थापक डा. गोएर्टजेल भन्छन्, ‘‘समयसँगै रोबोट स्मार्ट हुँदै जानेछ, मानिसभन्दा अगाडि जान नसके पनि ती मानिसजत्तिकै भने हुनेछन् ।’’ मानिसजस्तै देखिने रोबोट आफ्नो चारैतिर उपलब्ध हुन थालेपछि मानिस त्यसमा अभ्यस्त हुने उनको भनाइ छ । उनका अनुसार कतिपय अवस्था यस्तो पनि हुनेछ, मानिसको तुलनामा मेसिन बढी सहज बन्नेछ ।

आगामी दिनमा यस्तो स्थिति पनि आउला, जहाँ रोबोटमा चेतना, मन पराउने–नपराउने स्वतन्त्रता र कानुनी अधिकार पनि होला ? डा. गोएर्टजेल भन्छन्, ‘‘मलाई लाग्छ, रोबोट पनि मानिसजत्तिकै समझदार हुँदा उसमा चेतना पनि हुनेछ ।’’

दयालु रोबोटको आवश्यकता 

आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका सम्बद्ध अधिकारी दयालु रोबोटको सोच अहिले नै व्यापक नभएको मान्छन् । आर्टिफिसियल जनरल इन्टेलिजेन्सबारे निकै कम अनुसन्धान हुने गथ्र्यो, अब यस विषयमा गम्भीरता बढेको छ । गुगलजस्ता ठूला कम्पनीहरु यसमा ध्यान दिन थालेका छन् ।

‘हामीलाई मानिसभन्दा धेरै दयालु रोबोट चाहिएको छ’ भन्ने कुरामा अधिकांश रोबोटिक्स तथा कम्प्युटर साइन्टिस्ट असहमत छन् । डा. स्क्युलर यसलाई असम्भव देख्छन् । उनका अनुसार भावना भनेको विशिष्ट मानवीय गुण हो र यो पूर्णरुपमा जीवित मानिसको लक्षण हो । भन्छन्, ‘‘नैतिकता र मूल्यको आधारमा रोबाटेलाई सेट गर्न सकिँदैन । यो त्यो भावना र नैतिकतासँग जोडिएको हुन्छ, त्यससँगै मानिस बढ्दै जान्छ ।’’

मानिसको दिमाग नक्कल गर्नु मुस्किल

ब्ल्याक मिररको हालैको अङ्कमा माइली साइरस एउटा यस्तो पप सिङ्गरको भूमिकामा हुन्छिन्, जसले आफ्नो पहिचान आर्टिफिसियल इन्टेलिजेन्स सिस्टममा डाउनलोड गरेकी छन् । यसबाट उनले आफूलाई एस्ले टु नामको सानो रोबोटको पुतली बनाउन सकियोस् भन्ने चाहेकी छन् । विशेषज्ञहरु यसलाई सधैं कल्पना गरिएको चिज मान्छन् ।

डा. सिमन्स भन्छन्, ‘‘म भन्छु, कुनै पनि मानिसका लागि आफ्नो दिमाग र व्यक्तित्वलाई रोबोटमा डाउनलोड गर्न असम्भव छ । हामी कुनै पनि मानिसको दिमागको नक्कल गर्ने कार्यबाट अझै निकै टाढा छौं ।’’

उता, डा. गोएर्टजेल भने सन् १९२० को दशकमै निकोला टेस्लाले रोबोटलाई विचार दिएको विषयमा कसैले विश्वास नगरेको, तर अहिले त्यो सबैसामु रहेको बताउँछन् । ‘कतिपय अवस्थामा चिजहरु मानिसले सोचेभन्दा निकै फरक हुन सक्छन्’ भन्नेबारे पनि हामीले भुल्नुहुँदैन ।

विभिन्न प्रकारका रोबोटहरुको निर्माणले मानिसको रोजगारीमाथि धावा बोलिरहेका छन् । श्रमजीवीका लागि आगामी दिन असुरक्षित रहेको आशङ्का तीव्र भएको छ । मानिस स्वयम् आफूमाथि खतरा निर्माणमा लागेको आरोप पनि लाग्दै आएको छ । वैज्ञानिक आविष्कारहरुले जसरी मानिसलाई सहज बनाउँदै आएको छ, उसैगरी खतरा पनि बढाउँदै लगेको कुरामा सायदै कसैको विमति होला !
(बीबीसीमा आधारित)

Loading...