२०७६ मंशिर ३

संखुवासभामा वर्षासँगै पहिरो, ठाउँ-ठाउँमा सडक अवरुद्ध, एक घर पुरियो

खाँदबारी, ३ असार ।  संखुवासभाको विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण करोडौंको क्षति भएको छ। अविरल वर्षासँगै आएको बाढीपहिरोले अरुण तेस्रो आयोजनासहितका विभिन्न स्थानमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

अरुण नदीमा आएको बाढीले मकालु गाउँपालिका ३ मा रहेको निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइडमा क्षति पुर्‍याएको छ। बुमर मेसिन एकवटा, स्काइभेटर २ वटा, लोडर १ वटा, ट्याक्टर, कम्प्रेसर मेसिन, कङ्क्रिट पम्प, डिजी जेनेरेटरलगायतका दर्जनौं निर्माण सामाग्री बाढी पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाले जानकारी दिए।

त्यसैगरी, पहिरोले अरुण तेस्रोकै मकालु गाउँपालिका ५ को ड्याम साइडको कम्प्रेसर मेसिन, भल्भो मेसिन, गिटी फुटाउने मेसिन, मिक्चरलगायतका समानमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अविरल वर्षा र बाढीपहिरोका कारण अरुण तेस्रो आयोजनाको ड्यामसाइड क्षेत्रमा निर्माणकार्य समेत प्रभावित भएको छ।

मकालु गाउँपालिका ३ नयाँबस्तीमा खाँदबारी-किमाथांका सडकखण्ड निर्माणमा प्रयोग भएको एउटा लोडर मेसिन सडकभन्दा ३० मिटर तल पुर्‍याएको छ। रौता कन्ट्रक्सनले सो सडकको स्तरउन्नतिको काम गरिरहेको छ।

त्यसैगरी, खाँदबारी नगरपालिका १० चेवाबेसीमा निर्माणाधिन कात्तिके घाटको पक्‍की पुल निर्माणमा प्रयोग भएको मिक्चर, पानी तान्ने मेसिनलगायत निर्माण समाग्री बाढीले बगाएको छ।

एक घर पुरियो
मकालु गाउँपालिका ५ नुममा पहिरोले एक घर पुरेको छ। पहिरोले मकालु ५ का अजित राईको घर पुरेको जिल्ला प्रहरी कार्यालय संखुवासभामाले जनाएको छ। पहिरोले सोमबार साँझ ७ बजे राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुम बजार बस्ने राईको २ तले घरको माथिबाट आएको माटोको ढिस्कोले घर र घरसँगै रहेको भान्साघर र ट्वाइलेट समेत पुरिदिएको छ।

विभिन्न स्थानमा सडक अवरुद्ध

अविल वर्षासहित आएको बाढी पहिरोका कारण खाँदबारी-किमाथाङ्का सडकखण्डमा यातायत सञ्चालनमा अवरोध भएको छ। पहिरोका कारण खाँदबारी-किमाथाङ्का अन्र्तगत चिचिला गाउँपालिका ४, सुम्मा भिरदेखि कप्ताने भन्ने ठाउँसम्म करिब ३ किलोमिटर सडक बगाउँदा यातायत सञ्चानमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

सो सडक खण्डमा ठाउँठाउँमा वर्षाले सडकको माटो बगाउनका साथै ढिस्को खस्दा यातायत सञ्चालनमा असज भएको छ। त्यसबाहेक अन्य स्थानमा समेत सडक अवरुद्ध भएको छ। विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध गरेको छ।अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षाका कारण मकालु र भोटखोला क्षेत्रमा टेलिफोन सेवा समेत अवरुद्ध भएकाले क्षतिको पूर्णविवरण आउन भने बाँकी छ।

Loading...