२०७६ असार ४

साउदीमा हज यात्री पठाउँदा पनि भ्रष्टाचार १

काठमाडौं, २९ जेठ । मुस्लिम धर्मावलम्बीहरूलाई हज जीवनमा एक पटक जानै पर्ने तीर्थस्थल मानिन्छ । त्यसैले हज गर्न साउदी अरबमा जान सरकारले हरेक वर्ष रकम खर्च गर्छ ।

तर त्यही रकममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल हज समिति अन्तर्गत कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जनाविरुद्ध मुद्धा हालेको छ ।

सन् २०१७ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका हवाई टिकट खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४।०२ मा आब्हान गरेको बोलपत्रमा युनिभर्सल ट्राभलले ८८ हजार ९९५, हिनाले ९० हजार र सिलिंक ट्राभलले ९५ हजार ३०० रूपैयाँ तिर्थयात्री लैजाने कबोल गरेको थियो । तर सबैभन्दा कम रुपैयाँ कबोल गर्नलाई छाडेर बढी कबोल गर्नेसँग हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरेको पाइइएको छ ।

हज समितिका अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी हज कार्यसम्पादन उपसमिति गठन गरेको र उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यहरुले हज सचिवालयका सदस्य(सचिव तथा लेखापालसँग आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना सम्वन्धमा कुनै रायसल्लाहसमेत नलिई हिना ट्राभल्सको बोलपत्र स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसहित अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ,मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

Loading...