२०७६ असार ४

खाजा खर्च वापतको रकम उपलब्ध नगराएको सहजकर्ताहरुले गुनासो

मंगलबार, चैत १९, २०७५ /महिला सिप बिकास केन्द्र इटहरीले सङ्खुवासभा र धनकुटामा संञ्चालन गरेको ‘ढाका कपडा बुनाई’ कार्यक्रमको खाजा खर्च वापतको रकम उपलब्ध नगराएको सहजकर्ताहरुले गुनासो गरेका छन् ।

गरिबी निवारणका लागी लघु उद्यग बिकास कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक बर्षमा संखुवासभा र धनकुटामा संञ्चालन भएको ३ महिने तालिममा सहभागी प्रशिक्षार्थीलाई खाजा वापतको रकम केन्द्रले उपलब्ध नगराउदा सहजकर्ता आफैले होटलमा पैसा तिरेर फर्किनु परेको गुनासो गरेका हुन । केन्द्रले घरेलु तथा साना उघोग कार्यालयको सहयोगमा विभिन्न जिल्लामा गराउदै आएको ढाका, मुढा, दालमोड आदी तालिममा सहभागीहरुलाई दैनिक सय रुपैयाको खाजा खर्चको रकम छुट्याइएको हुन्छ । तर ०७४ सालमा सकिएको तालिमको खाजा खर्च अहिलेसम्म उपलब्ध नगराएको र माग्दा केन्द्रका व्यवस्थापकले अभद्र शब्द प्रयोग गर्ने गरेको सहजकर्ताहरुको आरोप छ ।

सहजकर्ता सुलोचना तामाङ् र बालुका बस्नेतले अघिल्लो बर्ष संखुवासभामा ढाका सम्बन्धि तालिममा सहभागी १८ जनाको खाजा खर्चको बाँकी रकम ३२ हजार रुपैया आफ्नै गोजीबाट होटललाई तिरेर फर्किएको बताईन । तिनमहिने तालिम संञ्चालन गरेको खर्च ३२ हजार थियो, केन्द्रलाई धेरै पटक खाजा रकम पठाउन आग्रह गर्रौ तर पैसा पठाएनन् अन्तिममा घरबाट पैसा मगाएर पैसा तिरिम सहजकर्ता सुलोचना तामाङ्गले बताईन ।

तालिममा सहभागी एक जनाको लागी दैनिक एकसय रुपैया खर्च तोकिएपनि कार्यक्रममा ५० रुपैयाको दरले पैसा पठाउने गरेको उनको भनाई छ । तामाङ्गका अनुसार आफ्नो गोजीबाट केन्द्रको पैसा तिर्दा उल्टै सिप बिकास केन्द्र इटहरीका प्रबन्धक शक्ति राईले पैसा नदिने र ‘के गर्न सक्छौ गर’ भनेर धम्काएको उनले बताईन ।

‘कम तलबको भरमा रुपमा काम गर्ने हामीले उल्टै केन्द्रको कामको खर्च आफै तिर्दै हिड्दा हामी पिडित भयौ’ सहजकर्ता बालुका बस्नेतले भनिन् ‘अध्यक्ष राधिका थापाले पनि पैसा पठाइदिन्छौ भनेर धेरै पटक भन्नु भयो तर अहिलेसम्म आएन’ । घरबाट ऋण गरेर पठाएको पैसा बर्षदिन बित्दा समेत उपलब्ध नहुदा घरमा तनाव बढेको बस्नेतको भनाई छ ।

यस्तै धनकुटामा पनि संञ्चालित ढाका कपडा बुनाई कार्यक्रमको समेत खाजा वापतको रकम केन्द्रले उपलब्ध नगराएको सहजकर्ता रेजिना धिमालले गुनासो गरिन् । १४ जना प्रशिक्षार्थीको २६ हजार रकम आफैले तिरेर तालिम समापन गरेको उनले बताईन । केन्द्रको यस्तो व्यवहारका कारण आफुहरु अन्य संस्था मार्फत जोडिएर काम गर्न थालेको उनिहरु बताउछन् ।

सिप बिकास केन्द्रले घरेलु तथा साना उघोग कार्यालयको साझेदारीमा महिलाहरुलाई बिभिन्न सिप सम्बन्धि तालिम दिदै आएको छ । केन्द्रले सञ्चालन गर्ने तालीमबाट विपन्न तथा असहाय महिलाहरुमा आर्थिक उपार्जन गर्न सक्ने क्षमताको विकास गरी आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । जसमा घरेलु तथा साना उघोग कार्यालयले केन्द्रको तालिम हेरेर बजेट उपलब्ध गराउने गर्छ ।

यता महिला सिप बिकास केन्द्रकी अध्यक्ष राधिका थापाले सहजकर्ताको रकम उपलब्ध गराउन ढिलो भएको स्वीकार गरेकी छिन् ।  ‘कार्यक्रमको पैसा पठाउन बाँकी छ, तर वहाँहरुले दिएको तालिम राम्रो भएन भनेर गुनासो पनि आएको छ’ उनले भनिन् ‘हामी बुझ्ने क्रममा छौ’ ।

Loading...